पूर्वाञ्चल खबर
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ बाट उपविजेता हुँदै डिभिजन–१ मा उक्लेको नेपाललाई विश्वकप छनोट प्रतियोगिता भने त्यति सहज हुनेछैन ।
नेपालका लागि विश्वकपमा छनोट हुनु नै मुख्य लक्ष्य भए पनि एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट मान्यता प्राप्त गर्नु अर्को महत्वपूर्ण लक्ष्य हुनेछ । विश्वकपमा छनोट हुन सके स्वतः एक दिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछ भने विश्वकपमा छनोट हुन नसकेको अवस्थामा पनि एक दिवसीय अन्तराष्ट्रिय मान्यताको प्रवल सम्भावना हुनेछ । केवल २ राष्ट्रले मात्र अवसर प्राप्त गर्ने भएकाले विश्वकपमा छनोट हुन नेपालले कठिन प्रतिस्पर्धा गर्नुपर्नेछ । यही प्रतियोगिताले निर्धारण गर्ने एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट मान्यताको नेपाल धेरै नै नजिक छ ।
जिम्बाब्वेविरुद्ध खेल्न नेपाललाई त्यती सहज भने छैन । नेपालले पहिलो पटक जिम्बाब्वेको सिनियर राष्ट्रिय टोलीविरुद्ध खेल्न लागेको हो । त्यसैले घरेलु अनि बलियो प्रतिद्वन्द्वीविरुद्ध नयाँ पिचमा खेल्दा जितका लागि नेपाली टोलीसामु उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प हुनेछैन ।
जिम्बाब्वे नेपालका लागि निकै बलियो र अनुभवी प्रतिद्वन्द्वी हो । सन् १९८३ मा इङ्ल्यान्ड र वेल्सले आयोजना गरेको विश्वकपमा पहिलोपटक सहभागी भएको जिम्बाब्वे त्यसपछि आयोजना भएका पछिल्ला सवै विश्वकपमा सहभागि जनाएको छ । सन् १९९२ मा टेस्ट टोलीको मान्यता प्राप्त गरेको जिम्बाब्वेसँग लामो समयदेखि उच्चस्तरको प्रतियोगिता खेलेको अनुभव रहेको छ । त्यसको तुलनामा एसोसिएट टोली नेपालले ५० ओभर क्रिकेटमा अहिलेसम्म प्रतिस्पर्धा गरेको आईसीसीको सबैभन्दा ठूलो प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप हो, जसमा नेपाल रेलिगेसनमा परेको थियो ।
तर पछिल्लो समय जिम्बाब्वेको खराब फर्मले नेपाललाई केही राहत हुनेछ । पल्लिो समयमा भर्खरै टेष्ट मान्यता पाएको अफगानिस्तासँग भएको ५ खेलको सिरिजमा जिम्बाब्वे ४–१ ले पराजित भएको थियो भने नेपालले गत महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनलसम्मको यात्रा तय गर्दा सबैलाई चकित तुल्याउने प्रदर्शन गरेको नेपालले विश्वकप छनोट प्रतियोगितामा पनि त्यो प्रदर्शनलाई निरन्तरता दिने विश्वासका साथ आज जिम्बाब्वेसँग पतिस्पर्धा गर्ने छ । यद्यपि पछिल्लो प्रतियोगितामा अविश्वसनीय प्रदर्शन गरेको नेपाली टोलीले जिम्बाब्वेविरुद्ध पनि सुखद नतिजा निकाल्ने अपेक्षा गरिएको छ ।