पूर्वाञ्चल खबर
माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।
पार्टी एकताबारे एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर रुपमा छलफल जारी रहेको छ । तर दुवै अध्यक्षले आफ्ना पार्टीका अन्य नेताहरुसँग एकीकरणका लागि भइरहेको गृहकार्यबारे केही बताएका छैनन् । त्यस्तै पार्टी एकीकरणको खाका तयार पार्नका लागि केन्द्रीय पार्टी एकता संयोजन समितिको बैठक बस्न बसेको छैन।
एकीकरणका सम्बन्धमा दुवै नेताबीच भएको तयारीबारे जानकारी नपाउँदा अन्य नेताहरु असन्तुष्ट बन्दै गएका छन् । ‘दुवै नेताहरुबीच सहमति भयो भन्ने विषय आउँछ तर के भयो भन्ने जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाउनुपर्ने अवस्था छ,’ वाम गठबन्धनका एक नेताले भने, ‘सहमति भएको हो कि नभएको हो त्यस विषयमा हामी अन्योलमा छौं ।’ नागरिकमा यो समाचार छ ।