खबर पूर्वाञ्चल
आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए ।
नेपालको संविधान २०७२ को धारा ८० अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । आजै बिहानमात्र राष्ट्रपतिले वाम गठबन्धनको तर्फबाट बहुमत प्राप्त भएको पत्र प्राप्त भएपछि संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् । पण्डित वातावरण मन्त्री भएका छन् भने थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।