AArya
RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधिसभामा समानुपातिक सांसदः कम्तीमा ८४ महिला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०७४, शनिबार ०७:०४
3
Shares
काठमाडौं,२७ माघ / प्रतिनिधिसभा समानुपातिकतर्फको १ सय १० सिटमा कम्तीमा ८४ जना महिला निर्वाचित गर्नुपर्ने भएको छ । 

राष्ट्रियसभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै संवैधानिक प्रावधानअनुसार एक तिहाइ पुर्याउन समानुपातिकबाट चुन्नुपर्ने महिलाको संख्या यकिन भएको हो । तीन प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले मात्रै समानुपातिकबाट सिट पाउनेछन् ।

समानुपातिकबाट एमालेले पाउने ४१ सिटमा कम्तीमा ३७ महिला पठाउनुपर्नेछ । यस्तै, कांग्रेसले पाउने ४० सिटमा २०, माओवादीको १७ सिटमा १६, फोरमले पाउने ६ सिटमा ५ र राजपाले पाउने सबै ६ सिटमा महिलाको नाम बन्दसूचीबाट पठाउनुपर्नेछ ।

निर्वाचन आयोगले औपचारिक रूपमा अझै समानुपातिक परिणाम सार्वजनिक गरिनसकेकाले उक्त संख्यामा सामान्य हेरफेर हुन सक्छ । आयोगले संवैधानिक बाध्यताका कारण राष्ट्रिय सभा गठन कुर्दै समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको छैन ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार राष्ट्रिय सभा परिणाम आइसकेकाले समानुपातिक प्राप्त सिट संख्या जानकारी गराउँदै विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न शुक्रबार दलहरूलाई पत्राचार गरिनेछ । संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रिय सभामा निर्वाचित संख्याबाट एक तिहाइ पुग्न चाहिने संख्यालाई दलहरूले समानुपातिक सूचीबाट पुर्‍याउनुपर्नेछ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षबाट ८० र राष्ट्रिय सभामा २७ सिट जितेको छ । उसले समानुपातिकबाट ४१ सिट पाउँदै छ ।

संघीय संसद्मा उसको सिट संख्या १ सय ४८ पुग्नेछ । संविधानअनुसार एमालेले कुल सिट संख्याको एक तिहाइ अर्थात ५० जना महिला संसदमा पठाउनुपर्छ । कुल सिट संख्यालाई तीनले भाग गर्दा आउने योगफललाई आयोगले महिलाको न्यूनतम आवश्यक संख्या मानेको हो ।

आयोगले त्यसरी हिसाब निकाल्दा दशमलव पछाडि एक अंक आए पनि एक सिट थपेको छ । एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्षका २ जना र राष्ट्रिय सभामा ११ महिला निर्वाचित भइसकेकाले ५० जनामा नपुग भएका ३७ महिला अब समानुपातिक सूचीबाट छानिनेछन् ।

कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षबाट २३ र राष्ट्रिय सभामा १३ सिट जितेको छ । प्रत्यक्षमा एक जना पनि महिला जिताउन नसकेको उक्त पार्टीबाट राष्ट्रिय सभामा ६ महिलाले जितेका छन् । समानुपातिकमा उक्त पार्टीले ४० सिट पाउँदै छ । संघीय संसदमा उसको सिट संख्या ७६ पुग्नेछ । उसले एक तिहाइका लागि २६ महिला सांसद पुर्याउनुपर्नेछ । ६ जना राष्ट्रिय सभामा निर्वाचित भइसकेकाले अब समानुपातिक सूचीबाट २० जना चाहिन्छ ।

माओवादीले प्रत्यक्षमा ३६ र राष्ट्रिय सभामा १२ सिट जितेको छ । समानुपातिकबाट १७ सिट पाउँदै छ । संघीय संसदमा उक्त पार्टीले पाउने ६५ सिट देखिएकाले २२ जना महिला पुर्‍याउनुपर्छ । प्रत्यक्षमा ३ र राष्ट्रिय सभामा ३ जना महिला जिताएको माओवादीले समानुपातिकबाट १६ जना महिला पठाउनुपर्ने देखिन्छ ।

राजपाले प्रत्यक्षबाट ११ र राष्ट्रिय सभामा २ सिट जितेको छ तर एक जना महिला पनि जिताउन सकेको छैन । समानुपातिकबाट ६ सिट पाउने निश्चित भएकाले उक्त पार्टीबाट संघीय संसद्मा १९ जनाको उपस्थिति रहनेछ । त्यसअनुसार उसले ७ जना महिला पठाउनुपर्ने हो ।

तर समानुपातिबाट पाउने सिट संख्या ६ मात्रै भएपछि उक्त सबै सिटमा महिला नै निर्वाचित हुनेछन् । फोरमले प्रतिनिधिसभा प्रत्यक्षबाट १० र राष्ट्रिय सभामा २ सिट जितेको छ । समानुपातिकबाट ६ सिट पाउने निश्चित भएको छ । त्यसअनुसार कुल १८ सिटमध्ये उक्त दलले संघीय संसदमा ६ जना महिला पुर्याउनुपर्नेछ । उसले राष्ट्रिय सभामा एक सिट महिला जितेकाले समानुपातिकबाट ५ जना पठाउनुपर्छ ।

आयोग प्रवक्ता नवराज ढकालका अनुसार महिलाको संख्या र अन्य समावेशी क्लस्टरबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत यकिन गरी दलहरूलाई पत्राचार गरिनेछ । कान्तिपुरमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर