AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय सभा निर्वाचन : दुई पदमा निर्वाचन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ माघ २०७४, मंगलवार १८:१३
3
Shares
विराटनगर, २३ माघ/ बुधबार हुने राष्ट्रियसभा निर्वाचनमा १ नम्बर प्रदेशमा दुई वटा पदका लागि निर्वाचन हुँदैछ । मतदानका लागि विराटनगरस्थित विरेन्द्रसभागृहमा २ वटा मतदानस्थल तोकिएको छ ।

दुई वटा मतदान स्थलमा ८ वटा मतपेटीका रहने मतदान अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए । मतदान स्थलका लागि प्रदेश संसदका लागि वीरेन्द्रसभागृहको उत्तर पट्टी तोकिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि दक्षिण तर्फ मतदान स्थल तोकिएको छ ।

मतदान सकिएसँगै मतगणनाका लागि निर्वाचन आयोगबाट आयोगका तथ्यांक अधिकृत उर्मिला शाहीको नेतृत्वमा तीन सदस्यीय टोली विराटनगर आइपुगेको छ । अन्यमा तथ्यांक अधिकृत प्रेमकुमार घिमिरे र तथ्यांक सहायक अम्बिका रेग्मी रहेका छन् । बिहान १० बजेदेखि सुरु हुने मतगणना दिउँसो ३ बजेसम्मका लागि समय छुट्याइएको छ । मतदान सकिएर गणना सुरु भएको २ घण्टा भित्रमा मत परिणाम सार्वजनिक गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले बताए । सोही दिन निर्वाचित भएका राष्ट्रिय सभाका सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभामा प्रदेशबाट निर्वाचित हुने ८ जनामध्ये खुल्लातर्फ ३ र महिला ३ गरी ६ जना निर्बिरोध निर्वाचित भइसकेका छन् । अब २ पदको मात्र निर्वाचन हुने १ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । अब दलित र अपांगता भएका वा अल्पसंख्यक कोटाको लागि बहुमतीय प्रक्रियाबाट निर्वाचन हुने भएकोले निर्वाचन कार्यालयलाई पनि एकल संक्रमणीय झन्झटबाट मुक्ति मिलेको उनले प्रतिक्रिया दिए । ८ पदका लागि हुने निर्वाचनमा यसअघि नै तीन महिला सदस्य र तीन खुल्ला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । महिला कोटामा वाम गठवन्धनका नैनकला ओझा र बिना पोखरेल तथा नेपाली काँग्रेसका सरिता प्रसाई निर्बिरोध भएका छन् । यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली काँग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भइसकेका छन् ।

प्रदेशबाट निर्वाचित हुने दलित कोटामा वाम गठवन्धनबाट खेम नेपाली र नेपाली काँग्रे्रसका बिनकुमार विश्वकर्मा तथा अपांगता भएका वा अल्पसंख्यक कोटामा गठवन्धनबाट अगम वान्तवा र नेपाली काँग्रेसबाट महेशकुमार जाजुको उम्मेदवारी रहेको छ ।

एक नम्वर प्रदेशमा एक महानगरपालिका २ उपमहानगरपालिका, ६० नगरपालिका र ७४ गाउँपालिका गरी कुल १ सय ३७ स्थानीय तह छन् । ती स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभामा मतदान गर्न पाउनेछन् ।

यस्तै प्रदेशसभाका ९३ जना सांसद पनि राष्ट्रियसभा निर्वाचनका मतदाता हुनेछन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । यसरी १ नम्बर प्रदेशमा स्थानीय तहका प्रतिनिधिको मत ४ हजार ९ सय २३ र प्रदेशसभा सदस्यको मत ४ हजार ४ सय ६४ रहेको छ ।

प्रदेशमा एमालेबाट स्थानीय तहका १ सय ५४ र प्रदेशसभाका ५१ मतदाता छन् । एमालेको स्थानीय तहका मतदाताको २ हजार ७ सय ७२ र प्रदेश सांसदको २ हजार ४ सय ४८ गरी ५ हजार २ सय २० मत रहेको छ । यस्तै माओवादी केन्द्रको स्थानीय तहका १६ मतदाताको २ सय ८८ र प्रदेश सांसद १६ जनाको ७ सय ८८ गरी १ हजार ५६ मत रहको छ । प्रदेशसभामा काँग्रेसको स्थानीय तहका ९६ जनाको १ हजार ७ सय २८ र प्रदेशसभाका २१ जनाको १ हजार ८ गरी २ हजार ७ सय २६ मत रहेको छ । प्रदेशमा संघीय समाजवादी फोरमको २ सय १६, राप्रपाको १ सय २० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मत रहेको छ । भोलि हुने निर्वाचन बहुमतीय पद्धतीबाट हुने भएका कारण बामगठबन्धनका दुवै उम्मेदवारले जित्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर