खबर पूर्वाञ्चल
आज रतुवामाई नगरवासी समाजले आयोजना गरेको नगरपालिका परिक्रमा तथा ज्ञापन पत्र प्रदान कार्यक्रममा बोल्दै स्थानीयले सिजुवाको इतिहास बोकेको केन्द्रलाई दुई÷तीन जनप्रतिनिधिको राजनीतिको आडमा साविक केन्द्रबाट अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै उनीहरुले त्यसको ब्यापक विरोध गरेका छन् । १० वटा वडा रहेको नगरपालिकाको केन्द्र सिजुवा बजारमा हुनु पर्ने माग गर्दै आएपनि नगर प्रमुख रविन राई र दुई जना वडा अध्यक्षको राजनीतिमा नगरपालिकाको केन्द्र सिजुवा बजारबाट अन्यन्त्र सार्ने जालसाझी भईरहेको रतुवामाई नगरवासी समाजका संयोजक टिकाधारी शाहले बताए । शाहले भौतिक पूर्वाधारका हिसाबले अहिलेको केन्द्र नै उपयुक्त भएपनि सिमित स्वार्थका कारणले नगरपालिकाको केन्द्र अन्यत्र सार्ने षड्यन्त्र भएको दावी गरे ।
ज्ञापनपत्र बुझाउनु अघि बोल्दै वडा न.२ का स्थानीय उमेश यादवले नगरपालिका प्रमुखले जनताको भावना बुझ्न अटेर गरेको बताए । उनले भने केही जनप्रतिनिधिको दवाबमा सुगम ठाँउ भन्दै नगरपालिकाको कार्यालय सिजु्वाबाट हटाएर सिजुवाको इतिहास मेट्ने काम हुन लाग्दैछ,यो कदापि सम्भव छैन ।
झण्डै तीन हजारको संख्यामा ज्ञापनपत्र बुझाउन आएका स्थानीयले वडा न.६ र ८ का वडा अध्यक्षको आडमा नगरपालिका प्रमुखले नगरपालिकाको केन्द्र अन्य ठाँउमा सार्ने निर्णय गर्न लाग्नु एकदमै ठूलो दुर्घटनालाई निम्ताउने काम हुने टंक मैनालीले बताए । यसैबीच १० वटा वडाका स्थानीयको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझ्दै नगरपालिका प्रम्ुख राईले नगरपालिकाको केन्द्र सार्ने षड्यन्त्र नभएको र दीर्घकालीन प्रभाव पार्ने बिषय भएकाले सबैको सल्लाह र सुझावमा नगरपालिकाको केन्द्र तोकिने ज्ञापनपत्र बुझाउने टोलीलाई बताए ।
राईले कसैको स्वार्थ र भावनामा नभई आवश्यक परे लोकन्त्रको उत्तम विकल्प चुनाव गर्न सक्ने तर्फ आफु सचेत रहेको जानकारी गराएका थिए । दस वटै वडाको दस वटै गाँउ,सिजुवा बजार नै पायक पर्ने ठाँउ,रतुवमाई नगरवासीको एउटै मत,सिजुवा बजारमा नगरपालिकाको केन्द्र यथावत जस्ता नारा लेखेका प्ले कार्ड सहित उनीहरु नगरपालिकाको कार्यालय ज्ञापनपत्र बुझाउन पुगेका थिए । नगरपालिकाको केन्द्र कादूपाडा वा मेजर डाँडो हुने संकेत प्रमुख राईले दिएपछि त्यसको ब्यापक विरोध भईरहेको छ ।
यता केहीदिन अघि वडा न.६ र ८ का स्थानीयले नगरपालिकाको केन्द्र कादूपाडा हुनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए ।