AArya
RUMPUM
animated ellipse animated ellipse

यो कस्तो परिक्षा हो कहिल्यै उतिर्ण गर्न नसकिने ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ माघ २०७४, बिहीबार १९:५५
3
Shares
तिलकुमारी शर्मा
तिलकुमारी शर्मा
यो कस्तो परिक्षा हो कहिल्यै उतिर्ण गर्न नसकिने ? यो कस्तो वलिदान हो निस्ठावान् र इमान्दार कार्यकर्ताले सँधै दिइरहनु पर्ने ? पार्टीका विरुद्ध नाङ्गो नाच देखाउनेहरु आज पार्टी र नेता पृय किन ? हिजो अर्को पार्टीमा हुँदा उफ्रि उफ्रि विरोध गर्नेहरु चारदिनपछि पार्टी प्रवेश गर्ने, दुई दिनपछि उमेदवारकालागि दावी गर्ने अनि उमेदवार बन्न नपाएपछि स्वतन्त्र उमेदवार दर्ता गर्ने धम्की दिन समेत पछि नपर्ने जस्ता अवसरवादीहरुलाई राष्ट्रिय सभा जस्तो गरिमामय ठाउँको उमेदवार बनाउनु हुँदैन थियो । पार्टीको यो कार्य गलत हो । पार्टीको स्थायी समितिको यो निर्णय गम्भीर त्रुटीपूर्ण छ । यस्ता कुरामा पार्टीको ध्यान गएन भने भोली पार्टीमा ठूलो संकट नआउला भन्न सकिन्न ।

अहिले जनताकालागि आशा र भरोसाको पार्टी भनेको नेकपा एमाले हो र कार्यकर्ताको आशा र भरोसाका केन्द्रविन्दु भनेका एमाले अध्यक्ष केपी शर्मा ओली नै हुन् । जसको पुष्टि स्थानीय निर्वाचनदेखिका सबै निर्वाचनहरुको मत परिणाम र पार्टी प्रवेशको लहरले पनि गरेको छ । कतिपय यस विषयमा सहमत हुनुहोला भने कतिपय असहमत हुनुहोला । तर पनि सत्य तथ्य यही हो चाहे त्यो तितो नै किन नहोस् ।

यसरी पार्टी प्रवेश गर्ने क्रममा कतिपय आफू रहेको पार्टीको निति र सिद्धान्त तथा गतिविधिहरू मन नपरेर वा स्वच्छ र इमान्दारी तरिकाले काम गर्ने अवसर नपाएकाले एमालेमा प्रवेश गरेका होलान् भने कतिपय अब एमालेले नै देशको मुहार फेर्न सक्छ भन्ने कुरा बुझेर देशको मुहार फेर्ने उद्देश्यले पार्टी प्रवेश गरेका पनि हुनसक्छन् । कतिपय ठूलो पार्टीमा प्रवेश गर्दा के के न पाइन्छ भनेर प्रवेश गरे होलान् त कतिपय केपी ओलीको देशभक्ति र राष्ट्रियताप्रतिको अडान देखेर पनि एमालेमा प्रवेश गरे होलान् । कतिपय अवसरकालागि मात्र पनि पार्टी प्रवेश गरेका होलान् ।

पार्टीका ठूला नेताहरुले नव प्रवेशी पाहुनालाई को कस्तो भनेर छुट्याउन सक्नु पर्दथ्यो । छुट्याउन नसकी गोलमटोल रुपमा अवसर दिंदा इमान्दार कार्यकर्ताको मन रोएको छ, शिर झुकेको छ । निन्याउरो मुख लगाए हिड्न बाध्य छन् ।

हिजोदेखि राजनीतिक, सामाजिक रूपान्तरको लागि निरन्तर लागिरहने,खटिरहने अनि हरेक आन्दोलनको अग्रभागमा रहँदा प्रहरीको लाठी खाएर टाउको फुट्दा शरीरको आधा रगत वलिदान गर्नेहरुको मूल्याङ्कन खोइ ? जेल पर्दा प्रहरीका लाठी र बुटले दिएका नीलडाम र चोटहरूले कहिले न्याय पाउने खोइ ? आज आम कार्यकर्ताका मनमा अनगिन्ती प्रश्नहरु उठिरहेका छन् । आज जनतादेखि समर्थक, शुभचिन्त,कार्यकर्ता हुँदै जिल्ला नेताहरूसम्म सबै प्रश्नै प्रश्नको घेरामा उभिएका छन् । न त जवाफ पाउन सकेका छन् न त जवाफ दिन नै सक्ने अवस्थामा छन् । त्यसैले नेताले र केन्द्रले गरेका यस्ता गलत निर्णयहरूलाई सँधै चुप लागेर सही थाप्दै ताली बजाएर समर्थन गरिरहन सकिन्न । विरोध जनाउनु असल कार्यकर्ताको अधिकार हो अनि खबरदारी गर्नु कर्तव्य पनि हो । यदि यसो भएन भने सामन्तवाद हावी हुन्छ । सामन्ती संस्कारले जरो गाड्छ ।

हुन त यस विषयलाई लिएर सामाजिक सञ्जाल लगायत सबै संचार माध्यमहरुमा व्यापकरूपमा विरोध भइरहेको छ। कतिपयले अप्रिय शब्दमा व्यक्ति नै तोकेर आक्रोश पोखेका छन् भने कतिपयले व्यङ्ग्यात्मक शब्द प्रहार गरेका छन् त कतिपयले उश्रृखल फोटो तथा कार्टुन र अश्लील शब्दहरु समेत पोखेको पाइयो। तर यसो गर्नु उचित होइन ।

मैले यो लेखमा न यो वा त्यो हुनुपर्छ भनेकी हुँ न त यो वा त्यो को विरोध गरेकी हुँ । मात्र निर्णय गर्ने तौर तरिका र विधिबारे प्रश्न उठाएकी हुँ । भोली निम्तिन सक्ने खतराप्रति सचेत गराउन खोजेकी हु ।

यस पटक स्थानीय निर्वाचनदेखि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, समानुपातिक हुँदै राष्ट्रिय सभा निर्वाचनसम्मका उमेद्ववारी चयनमा जे देखियो त्यसबाट यस्तो सिकाई मिल्यो ।
१. आफुलाई सिध्याएर आफ्नो रित्याएर पार्टी बचाउनेलाई भन्दा पार्टी सिध्याएर आफु मोटाउनेले अवसर पाएको देखियो ।

२.आफ्नो दुनो सोझ्याउने अरुको सोझिएको दुनो पनि घोप्ट्याऊन जान्नेहरुले अवसर पाए ।

३.पार्टीको काम गरिरहनु नपर्ने, ठूला नेतालाई मूठो कुम्ल्याइदिए पुग्ने रहेछ भन्ने भान भयो ।
४.पार्टीले गरेका राम्रा कुराको प्रशंसा र प्रचार गर्नु नपर्ने, सककधै विरोधै विरोध मात्र गरेपुग्ने, अझ अर्को पार्टीलाई रिपोर्टिङ गर्ने पुरस्कृत भएर टिकट पाएको फेला पर्यो।
५. चुनावका बेला आफ्नो पार्टी र उमेद्ववारका विरुद्ध आफ्नै घरमा रातारात योजना बनाए त झन उत्कृष्टताको उच्च सम्मान पाएको पनि देखियो।
६.कार्यकर्ताले चिनिरहनु नपर्ने स्थायी कमिटीमा आफन्त भए टिकट पाउन गाह्रो नरहेको ठहर भयो ।

७.जिल्लाले सिफारिस गरिरहनु नपर्ने काठमाडौंमा एक महिना बसेपछि टिकट कुदेर मात्र होइन उफ्रि उफ्रि घरैमा पो आइपुग्दो रहेछ भन्ने कुरामा शंका गर्नु परेन।
८. अरुबेला बेस्सरी चिच्याई चिच्याई पार्टीलाई गाली गरे हुने, अवसर पाउने बेलामा खुरुक्क पार्टी प्रवेश गरे भइहाल्ने रहेछ।

आश्चर्य लागेको अर्को कुरा हो, नेताहरुको दुरदर्शीपन !!
स्थानीय नेतालाई वाइपास गरेर अर्कै जिल्लामा बसेका नेताले को कहाँ कतिको खटेको छ भनि मूल्याङ्कन गरेको देख्दा आश्चर्य लाग्यो ।
यो कस्तो राजनीति हो ?
वा ! वा !! वा !!! समाजवाद बिचारका नाइकेहरू ! एक पटक बुझाइ दिनु हुन्थ्यो कि ! सिधासाधा, इमान्दार र निष्ठाको राजनीति गर्नेहरुले कहिलेसम्म दिइरहनु पर्ने यो परिक्षा ? कस्तो परिक्षा हो कहिल्यै उतिर्ण गर्न नसकिने ? यो कस्तो वलिदान हो निस्ठावान् र इमान्दार कार्यकर्ताले सँधै दिइरहनु पर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर