पूर्वाञ्चल खबर
राष्ट्रियसभामा आफैं आकांक्षी रहेका काफ्लेले बाम गठबन्धनको भागबण्डामा प्रदेशमा माओवादीलाई महिला कोटा परेपछि श्रीमति विना पोखरेललाई उम्मेदवार बनाएका हुन् ।
जनयुद्धको समयमा काफ्लेसँगै केही समय भूमिगत भएकी विना पछिल्लो समयमा राजनीतिमा सक्रिय भने छैनन् । आफू उम्मेदवार बन्न नपाएपछि पार्टीको कुनै भूमिकाम नरहेकी श्रीमतिलाई भएपनि राष्ट्रियसभामा लैजान काफ्लेले ठूलै जोडबल गरेका थिए ।
राष्ट्रियसभामा माओवादीबाट बेपत्ता योद्धाहरु विरेन्द्र बस्नेत र धिरेन्द्र बस्नेतकी आमा एवं पार्टीका सल्लाहकार झापा दमककी चन्द्रकुमारी बस्नेतलगायतको दाबी थियो । पार्टीका अधिकांश नेताहरुले बस्नेतलाई उम्मेदवार बनाउनुपर्ने सुझाब दिएपनि काफ्लेले आफ्नै श्रीमतिलाई उम्मेदवार बनाएका हुन् ।
पहिलो संविधानसभामा मोरङको क्षेत्र नं. ३ बाट विजयी भएका काफ्लेले दोस्रो संविधानसभामा निर्वाचनमा बैद्य माओवादीमा लागेर बहिष्कार गरेका थिए । गएको प्रतिनिधिसभा निर्वाचानमा मोरङको क्षेत्र नं. ३ बाट उम्मेदवार बन्न प्रयास गरेपनि एमालेले क्षेत्र नं. ३ नछाडी ४ माओवादीलाई छाडेको थियो । सो क्षेत्रबाट उम्मेदवार बन्न नेता तथा कार्यकर्ताहरुले सुझाब दिएपनि काफ्लेले चुनाब हार्ने डरले उम्मेदवार बनेनन् ।
चुनाब हार्ने डरले काफ्ले पछि हटेको सोही क्षेत्रबाट माओवादीका यूवा नेता अमनलाल मोदीले मोरङमै सबैभन्दा बढि मतान्तरले चुनाब जिते । उनै काफ्लेसहितका माओवादीका जिल्ला तहका केही नेताहरुले प्रदेशसभाको टिकट मागेका मोदीलाई टिकट नदिएर चुनाब हार्ने ठानिएको क्षेत्रमा उम्मेदवार बनाएका थिए ।
प्रदेशको नेतृत्वमा रहेर आफ्नै श्रीमतिलाई उम्मेदवार बनाएको भन्दै काफ्लेको माओवादी कार्यकर्ताहरुले चौतर्फी आलोचना गरिरहेका छन् । माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा उनी विरुद्ध आक्रोश पोखिरहेका छन् ।
वाम गठबन्धनका तर्फबाट माओवादीका भागका परेका राष्ट्रियसभाका १४ मध्ये पोखरेलेसहित १३ जनाको नाम माओवादीले मंगलबार विहान तय गरेको हो । प्रदेश २ मा एक जनाको नाम टुंगो लगाउन बाँकी छ । मधेसी दलहरुसँगको तालमेल हुने गरी वार्ता चलिरहेकाले एक सिटको भने पछि टुंगो लगाइने बताइएको छ ।
माओवादीका तर्फबाट प्रदेश १ मा एक जना र प्रदेश ६ मा तीन जना उम्मेद्वार हुनेछन् । बाँकी ५ वटा प्रदेशमा दुई÷दुई जना उम्मेद्वार हुनेछन् । प्रदेश १ मा बीना पोखरेल (महिला), प्रदेश २ मा शशिलकला दाहाल (महिला), प्रदेश ३ मा रामबहादुर थापा (खुल्ला) र गंगा पराजुली (महिला), प्रदेश ४ मा दीनानाथ शर्मा (खुल्ला) र खीमबहादुर विक (दलित), प्रदेश ५ मा राजमकुमार कुँवर (अल्पसंख्यक/अपाङ्ग) र चन्द्रबहादुर खड्का (खुल्ला), प्रदेश ६ मा जीवन बुढा (अल्पसंख्यक÷अपाङ), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुल्ला) तथा प्रदेश ७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुल्ला) माओवादीका उम्मेदवार हुनेछन् ।
राष्ट्रियसभा निर्वाचनको लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ भने निर्वाचन माघ २४ गते हुनेछ ।