AArya
RUMPUM
animated ellipse animated ellipse

नोबेल अस्पतालको लापरबाही, प्रसूती गराउँदा शिशुको हातै भाँचियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७४, आईतवार १९:५१
3
Shares
प्रसूती गराउने क्रममा भाँचिएको शिशुको हात । तस्वीर /खबर पूर्वाञ्चल
विराटनगर, २३ पुस/नोबेल मेडिकल कलेजले प्रसूती गराउने क्रममा नवजात शिशुको हात भाँचिदिएको खुलासा भएको छ ।

प्रसूतीका लागि भर्ना भएकी मोरङ सुन्दर हरैंचा ३ की ३४ बर्षीय तारा आछामिको पेटबाट बच्चा निकाल्ने क्रममा हात भाँचिएको हो । हात भाँचिएपनि प्रसूती गराएको र हातको उपचार गर्दा खर्च लागेको भन्दै अस्पतालले पीडितसँग उल्टै ६० हजार रुपैयाँ लिएको छ ।

तारालाई प्रसूती व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना गरिएको थियो । १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएको पीडितको भनाइ छ । ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी थिइन् । हातले जबर्जस्ती तान्दा शिशुको हात भाँचिएको परिवारको दाबी छ । प्रसूती गराउन संलग्न चिकित्सकले शल्यक्रिया गर्नु नपर्ने र सामान्य अवस्थामा बच्चा जन्मिन सक्ने भन्दै हात हालेर बच्चा निकालेका थिए ।

जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग गुनासो गर्दा पनि सुनुवाई नभएको ताराका ससुरा धनलाल सार्कीले बताए । ‘शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूती गराउन अस्पतालले ६० हजार रुपैयाँ लियो,’ सार्कीले भने, ‘प्रसूति गराउने क्रममा चिकित्सकले लापरबाही गरेका कारण बच्चाको हातै भाँचियो, अहिले उपचार गर्न पनि मान्दैनन् ।’

झण्डै दुई महिना अगाडि नोबेलको आइसियुमा उपचारका लागि भर्ना गरिएकी एक महिलाको पनि अस्पतालकै कारण खुट्टा भाँचिएको थियो, खुट्टा भाँचिदिएको पोल खुल्ने डरले बेहोस पार्ने औषधि खुवाएर मारेको आफन्तले त्यसबेला आरोप लगाएका थिए ।

बच्चाको उपचार गराउँदा भएको सबै पैसा सकिएको उनीहरुले बताएका छन् । ताराका पति वैदेशीक रोजगारीमा छन् । अस्पतालले उपचार गर्न नमानेका कारण बच्चा र आमा दुबैजनाको अवस्था कमजोर बनिरहेको धनलालले बताए । ‘हात दुखेको पीडाले बच्चा रातदिन रुन्छ मात्रै’, धनलालले भने, ‘हात ठिक नभई अस्पतालले जबर्जस्ती डिस्चार्ज गरिदिएको छ ।’ बच्चाको हात भाँचिएपछि प्लाष्टर गरिदिने बाहेक ‘फलोअप’ मा जाँदा पनि अस्पतालले केही नगरिदिएको उनको गुनासो छ ।

हात हालेर प्रसूति गराउँदा भएको घाउ पनि अस्पतालले राम्ररी सिलाई नगरिदिएको पीडितको गुनासो छ । राम्ररी सुत्केरीको घाउ सफा नगरिदिएका कारण घाउमा संक्रमण समेत हुन थालेको चिकित्सकले नै जानकारी गराएको धनलालले बताए । नोवेल अस्पतालले भने प्रसूती गराउँदा शिशुको हात भाँचिएको कुनै जानकारी नभएको जनाएको छ । ‘अस्पतालले त्यस्तै कुनै कमजोरी गरेको जानकारी छैन,’ अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले भने, ‘अन्जानमा त्यस्तो भएको भए पनि बिरामीको उपचारलाई अस्वीकार गर्ने कुरै हुँदैन ।’

लापरबाहीले खुट्टा भाँचियो
झण्डै दुई महिनाअगाडि नोबल अस्पतालमै उपचारका लागि भेन्टिलेटरमा राखिएकी बेलबारी–४ की एक महिलाको खुट्टा भाँचिएको थियो । बेलबारी–४ की ६१ वर्षीया लिलामायाँ बस्नेतको उपचारकै क्रममा खुट्टा भाँचिएपछि आफन्त आश्चर्यमा परेका थिए । सकुशल रहेको खुट्टा भेन्टिलेटरमा राखिएको बेला कसरी भाँचिन्छ भन्ने प्रश्नमा अस्पतालले ‘अन्टसन्ट’ जवाफ दिएको थियो ।

अन्तिममा दबाब परेपछि अस्पतालका सञ्चालक सुनिल शर्माले फ्रिमा उपचार गराइदिने बताएका थिए । ‘अस्पतालमा कसरी खुट्टा भाँचियो भन्ने जवाफ दिन मानिरहेका थिएनन्,’ बिरामीका आफन्तले भने, ‘पछि दबाब परेपछि फिजियो थेरापीका कारण खुट्टा भाँचिएको जवाफ दिए ।’ तर, भेन्टिलेटरमा राखिएको बिरामीलाई फिजियोथेरापी गराएको कुरा आफन्तलाई जानकारी नै थिएन ।

कार्तिक ७ गते बस्नेतको मृत्यु भएको थियो । आफन्तले भने बिरामीको खुट्टा भाँचिएपछि अस्पतालले बेहोस पार्ने औषधि खुवाएर बोल्न नसक्ने बनाएको र अन्तिममा मारेको आरोप लगाएका थिए । ‘बोलिरहेको र होसमा रहेको बिरामीको खुट्टा भाँचिएपछि होस गुमेको थियो,’ मृतक बस्नेतकी आफन्तले भने, ‘एक पटक बिरामीले डाक्टरले खुट्टा बटारेर भाँचिदिएको संकेत गरेको थियो, पछि होसमा आएपछि खुट्टा भाँचिदिएको पोल खुल्ने डरले बिरामी नै मारिदिएको हाम्रो आशंका छ ।’ अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले कमजोर हट्टी भएको कारण थेरापी गर्दा बस्नेतको खुट्टा भाँचिएको जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर