RUMPUM
animated ellipse animated ellipse

मिनेन्द्रकालागि ऋषिकेश फलामको च्युरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ मंसिर २०७४, आईतवार २०:३३
3
Shares
विराटनगर १७ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउनै लाग्दा चुनावी नतिजाको अनुमान गर्दै चिया पसलमा छलफल सुरु भइसकेको छ । मोरङ क्षेत्र नम्वर २ को स्थलगत भ्रमणका क्रममा देखिएका दृष्यहरुले त्यस क्षेत्रमा कसले चुनाव जित्ला भनेर सामान्य आंकलन गर्ने आधारहरु भेटिएका छन् ।

संविधानसभाको दोश्रो निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार ऋषिकेश पोखरेलले जित निकालेको सो क्षेत्रमा अहिले वाम गठवन्धनको तर्फबाट पोखरेल र नेपाली काग्रेंसबाट डा. मिनेन्द्र रिजाल आमने सामने प्रतिष्पर्धामा उत्रिएका छन् । विगतमा नेपाली काग्रेंसका नेता आमोदप्रसाद उपाध्यायको प्रभाव रहेको क्षेत्र तथा गिरिजाप्रसाद कोइरालाको प्रभाव क्षेत्र मिलाएर बनेको सो क्षेत्रमा अहिले बाम गठवन्धन बनेपछि दुवै नेताबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

निवर्तमान सांसद पोखरेलप्रति जनताको खासै धेरै गुनासो सुनिएन । सिमावर्ती दक्षिण क्षेत्रमा नेपाली काग्रेंस र वाम गठवन्धनप्रति बराबरी जस्तै जनमत देखिन्थ्यो । मुस्लिम समुदायको वाहुल्यता रहेको डाइनिया, सिक्टी, झुर्कियामा यो पटक मुसलमानहरुले वाम गठवन्धनलाई सहयोग गर्ने करिव स्पष्ट देखियो । धेरै वर्षदेखि सांसदको तहबाट नपाएको विकास निर्माण पोखरेलको कार्यकालमा मुसलमान समुदायले उपभोग गर्न पाएकै कारण उनीहरु वाम गठवन्धनलाई सहयोग गर्ने निष्कर्शमा पुगेका हुन् । डाइनियामा दोस्रो अवस्था नेपाली काग्रेंसको देखिन्छ भने तेस्रो जनमत संघीय समाजवादीको रहेको पाइयो ।

नेपाली काग्रेंसको तर्फबाट पोखरेललाई चार वर्षमा कुनै विकास नगरेको आरोप लगाइएको छ । वाम गठवन्धले जिते देशमा अधिनायकवाद आउने कुरा त्यहाँपनि भनिएको छ । त्यस वाहेक मुस्लिम वस्तीमा काग्रेंसको तर्फबाट वाम गठवन्धनले जिते मुसलमानलाई दाह्री पाल्न नदिने कानुन बन्ने हल्ला फैलाएको भेटियो । यो हल्लाबाट भने मुसलमानहरुमा केही संदेह देखिन्छ । विकास निर्माणको विषयमा भने मतदाताहरुमा स्पष्टता नै रहेको पाइयो ।

सिक्तीका मोहमद कानु मियाँले भने ‘यो क्षेत्रमा भोटमाग्न पनि पहिले नेता आउँदैन थिए ठेकेदार पठाउँथे विकासको त कुरै नगर्नुस् । ऋषि पोखरेल चुनाव उठेदेखि मात्र हामीले उमेदवारसंग अन्तरक्रिया गर्न पाएका छौं अनि उनले गरेको विकास हामीले देखेका छौं अरुले भनेर हामी पत्याउनेवाला छैनौं ।’

डाइनिया चोकबाट दक्षिण नझेको विकास पछिल्लो चार वर्षमा सिक्टीको बोर्डरसम्म पिचरोड बनेको छ । त्यहाँको मदरसामा पूर्वाधार विकासको बजेट गएको छ । कब्रस्थानको संरक्षणकालागि घेराबेरा गरिएको छ र मस्जिदमा पनि आर्थिक सहयोग भएपछि उनीहरु वाम उमेदवारप्रति सकारात्मक देखिए । केही दिन अघि सिक्टीका ५० अगुवा किसान तथा यूवाहरु अन्य पार्टी परित्याग गरेर वाम गठवन्धनमा प्रवेश गरेका थिए ।

सो निर्वाचन क्षेत्र अन्तरगत वरडंगा र झुर्कियामा नेपाली काग्रेंसको अवस्थामा वाम गठवन्धनको तुलनामा बलियो देखियो । टकुवा, अमरदह र ववियाविर्तामा नेपाली काग्रेंस र वाम गठवन्धनको पोजिसन बराबरी झैं अनुभूती हुन्थ्यो । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा सो निर्वाचन क्षेत्रमा वाम गठवन्धन ८ हजार मतले अगाडी छ । डा. रिजालको उपस्थितीपछि केही सुधार गरेको काग्रेंसकालागि पहिलो पटक सो क्षेत्रमा उमेदवार बन्न पुग्नु भएका नेताका कारण सकस देखिन्छ ।

प्रत्यक्ष निर्वाचन लडेको परिपक्व अनुभवको अभावले रिजाललाई सोचेजस्तो सजिलो नहुने स्थानीयहरु बताउँछन् । त्यसमा पनि पोखरेलले स्थानीय क्षेत्रमा लिएको विकास निर्माणको पहललाई चिरेर अघि बढ्नु पर्दा उहाँलाई अप्ठ्यारो परेको छ ।

सो निर्वाचन क्षेत्र अन्तरगत रतुवामाई नगरपालिकाको सिजुवा, गोविन्दपुर र इटहरा सबैभन्दा घनत्व भएको क्षेत्र हो । सो क्षेत्रमा वाम गठवन्धनको अवस्था अधिक मजबुद देखिन्छ । जसले गर्दा २१ गते हुने निर्वाचनबाट पोखरेलले बाजी मार्ने सम्भावना बलियो रहेको नेकपा माओवादी केन्द्रका नेता प्रकाश पौडेलले बताए । नेपाली काग्रेंसले स्थानीय तह निर्वाचनमा इटहराबाट एमालेको मत चोरेकै कारण बिजयी बनेको थियो । अहिले त्यो अन्तरविरोध समाधान भइसकेको उनीहरुको दावी छ ।

कुल १ लाख ११ हजार ३ सय २१ मत रहेको सो निर्वाचन क्षेत्र अहिले डा. मिनेन्द्र रिजालको उपस्थितीका कारण चासोको रुपमा हेरिएको छ ।

विकास योजनाले पोखरेललाई सजिलो
सरकारको जनता आवास कार्यक्रम अन्तरगत सो निर्वाचन क्षेत्रका गरिवहरुका लागि २ सय ५४ वटा घरहरु निर्माण भएका छन् । आफ्नो लगानीमा घर बनाएर बस्न नसक्ने अवस्थाका गरिवकालागि ति घरहरु निर्माण गरेको जस अहिले पोखरेलले पाएका छन् । उनको योजनामा वरडंगामा ७५ वटा, झुर्कियामा ७५ वटा महादेवामा ५४ वटा, पैयामारी मुसहरी टोलमा ४६ वटा घरहरु निर्माण भइसकेका छन् । त्यसबाट गरिव तथा विपन्नहरु वाम गठवन्धनप्रति आकर्षित देखिए । यस्तै ४ सय २१ वटा नयाँ घरहरु निर्माणको प्रकृयामा अघि बढेको छ ।

गोविन्दपुर बक्राहा खोला पश्चिममा १ सय १० वटा, बक्राहा पूर्व ७५ वटा, सिजुवा डाँगि टोलमा ४८ वटा घरहरु निर्माण प्रारम्भ भएको छ । त्यसले पोखरेलमाथि लागेको विकास नगरेको भन्ने आरोप स्थानीयले खासै पत्याएको पाइएन ।

सिमावर्ती क्षेत्रदेखि पूर्वपश्चिम राजमार्ग जोड्ने दुई मुल सडक निर्माणको काम यस अवधिमा सुरु भएका छन् । बोर्डरको धरसु चोकदेखि उर्लावारी चिउरामिलसम्म जाने मदन भण्डारी मार्ग पिच हुँदै छ भने १२ करोडको लगानीमा लारिकट्टा गोविन्दपुर हुँदै बक्राहाको डिलैडिल जाने सडक पनि निर्माणको चरणमा छ ।

सिक्टी केरञ्जा मंगलवारे जोड्ने गिरिजाप्रसाद कोइराला मार्ग धमाधम बनिरहेको छ ।
स्थानीय विद्यार्थी नेता भाष्कर खनालले भने ‘झुर्किया जस्तो हेपिएको र पिछडिएको ठाउँको विकासका लागि पूर्वाधार सहितको स्थास्थ्य केन्द्र निर्माणमा ५ करोड बजेट आएको छ र स्थानीय पर्यटन पूर्वाधार विकासमा सुनवर्सीमा महाराज थान मन्दिरकालागि ४० लाख बजेट केन्द्रबाट ल्याउन पोखरेलको योगदान छ त्यसलाई जनताले नजिकबाट अनुभूति गरेका छन् ।’

दाम्राभिट्टा सामुदायिक भवन निर्माण, बीऊबिजन प्रशोधन एवं संरक्षण केन्द्रको स्थापना आदि कामले पनि स्थानीयहरु पोखरेलको पक्षमा उभिने बताए ।

त्यसबाहेक पटक पटक नेपाली काग्रेंसले जितेको सो क्षेत्रमा रहेको विशेश्वरप्रसाद कोइराला उद्यानको संरक्षण नभएर वेवारिसे रहेको संरचनालाई संरक्षण गर्न पोखरेलले गरेको योगदानबाट स्थानीय खुशी देखिए । उनीहरुले भने ‘विपिको नाममा भएको संरचना कम्युनिष्टले जोगाइदिनु परेको छ त्यसैले कागं्रेसले विकास गर्ला भन्ने खासै विश्वास छैन ।’

रिजालकालागि बक्राहा पश्चिम अनुकुल
मोरङ क्षेत्र नम्वर २ मा प्रतिष्पर्धा गर्न तयार भएका काग्रेंस नेता डा. मिनेन्द्र रिजालकालागि प्रदेशसभा क भन्दा ख अनुकुल देखिन्छ । सो क्षेत्रमा पर्ने पुरानो अमरदह, हसन्दह, टकुवा र बवियाविर्तामा पुराना काग्रेंस समर्थकहरु छन् । सो क्षेत्रमा मिहिनेत गर्दा पश्चिमबाट अग्रता गर्दै पूर्वलाग्ने अवसर रिजाललाई भएको स्थानीयहरु बताउँछन् ।

बक्राहा तरेपछि रिजालकालागि महादेवा र झुर्किया सहयोगि बन्ने छ । तर अधिक मतदाता रहेको गोविन्दपुर र इटहरा रिजालकालागि फलामको च्युरा बन्ने छ । विगतदेखिनै वाम वाहुल्य क्षेत्रको रुपमा परिचित त्यहाँबाटै रिजाललाई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नबाट रोक्ने अवस्था हुन सक्ने देखिन्छ ।

यद्यपी मतदानको अगाडीसम्म अनुमान केवल अनुमान मात्र रहने यथार्थ नहुने काग्रेंस समर्थकहरु बताउँछन् । स्थानीय एक काग्रेस कार्यकर्ताले भने ‘ख प्रदेशबाट उमेदवारी दिएका काग्रेंस नेता घणिन्द्रबहादुर कुँवरले जित निकाल्न सक्ने आशा गरेपनि प्रदेश क र २ नम्वर क्षेत्र जित्न सजिलो छैन ।’ सो निर्वाचन क्षेत्र अन्तरगत प्रदेश क बाट वाम गठवन्धनका गणेश उप्रेती र काग्रेंसका शिवनारायण गनगाईबीच प्रतिष्पर्धा हुँदैछ भने ख बाट वाम गठवन्धनका लिलावल्लभ अधिकारी र घणिन्द्रबहादुर कुँवरबीच प्रतिष्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार