पूर्वाञ्चल खबर
चुनावी प्रचार कसरी गरिरहनु भएको छ ?
जनताको कुरा सुन्ने, गुनासो सुन्ने, राजनीतिक विषयमा बुझाउने र आफ्नो बारेमा जनतालाई भन्ने, बाम गठबन्धनलाई जिताउन आव्हान गर्नका लागि घरदैलो गर्नेक्रम जारी छ ।
तपाईको क्षेत्रमा विपक्षी दल यसअघि बलियो थियो । तपाईले कसरी जित्नुहुन्छ ?
यो पहिलेको कुरा हो । विपक्षी बलियो भन्ने कुरा गलत हो । पहिले एउटा पार्टी प्रजा परिषद भन्ने थियो । तर अहिले समयसँगै त्यो पार्टी हरायो । जनताले परिवर्तनसँगै नयाँ चिज खोजेका छन् । यहाँका जनता परिवर्तन चाहन्छन् । त्यसकारण यस पटक जनताले मोरङको क्षेत्र नम्बर ६ (क)मा मलाई जिताउँछन् भन्नेमा म पूर्ण विश्वासमा छु ।
तपाईका एजेण्डा चाहिं के–के हुन् ?
मुख्यतः मेरा राष्ट्रिय महत्वका र स्थानीय स्तरका फरक फरक एजेण्डा छन् । राष्ट्रिय एजेण्डामा विराटनगर राजधानी बनाउने, क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तराष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने र दक्षिण एसियास्तरको एयरपोर्ट निर्माण गर्ने मेरो सपना छ । त्यसका साथै किमाथांका विराटनगरको सडक निर्माण पनि मेरो प्राथमिकता छ ।
स्थानीय एजेण्डा भनेको मेरो क्षेत्रमा कृषि विश्वविद्यालय निर्माण गर्ने, प्रत्येक गाउँपालिकामा रहेका स्वास्थ्यसंस्थाको स्तरोन्नती गर्ने, सुन्दरहरैंचामा प्रसूती गृह निर्माण गर्ने, बेरोजगार युवालाई रोजगारको सुनिश्चितता गर्ने, डिग्री गरेका युवाले विदेश गएर सरसफाई गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने मेरो योजना छ । त्यसबाहेक हामीले घोषणा–पत्र जारी गरेका छौं । त्यही घोषणापत्रका आधारमा प्रदेशसभामार्फत नीति निर्माण गर्ने र विकास तथा समृद्धि ल्याउने मेरो योजना छ । मेरो सपना पुरा गर्ने अवसर पाएँ भने यो क्षेत्र देशकै नमूना क्षेत्र बन्नेछ ।
भोट किन्ने र मत जित्ने प्रतिस्पर्धा पनि छ भन्ने सुनिन्छ खास कुरा के हो ?
म युवा हुँ मेरो राजनीतिक भविष्य लामो समयसम्म छ । मलाई एउटा अवसर दिनुपर्छ । हिंजो जितेर गएकालाई काम गरेनन् भनेर गाली नगर्नुहोस् । अब उनीहरुलाई बिर्सनुहोस् मलाई भोट दिनुहोला भन्दै जनताको माझमा म गएको छु । जनताले मलाई अविर मालाले स्वागत गर्नुभएको छ । विजयको टिका लगाइसक्नु भएको छ । भ्रममा पर्नुपर्ने कुनै कारण छैन ।