खबर पूर्वाञ्चल
भाइटीका शनिबार परेको हुनाले बिहान ८ बजेसम्म भने टीका लगाउन नहुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । उनका अनुसार शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नहुने गौतमको भनाइ छ ।
समितिका अध्यक्ष गौतमले भने, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ । भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याहृनको समय निकालिएको हो, तर पनि दिनभर टीका लगाउन सकिन्छ ।’
भाइटीका दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । टीका लगाइदिएपछि दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई आशिर्वादसहित उपहार दिने प्रचलन रहेको छ ।
टीका लगाउँदा कता फर्किने ? लगाउनु अघि के गर्ने ?
भाइटीकाको समय दाजुभाइ पश्चिम फर्केर बस्ने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिन राम्रो हुन्छ ।
आज पश्चिममा चन्द्रमा भएकाले लगाइ माग्ने दाजुभाइ पश्चिम फर्कंदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइ माग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको अध्यक्ष गौतमले बताए ।
लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।
थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ ।
तपाईको प्रतिक्रिया