AArya
RUMPUM
animated ellipse animated ellipse

आज बडादशैं, टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०७४, शनिबार ०८:१३
3
Shares
विराटनगर, १४ असोज / आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।

टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आजै बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन आज हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

निधारमा रातो अक्षताको टिकाले खुशी वा उल्लासको अवस्था जनाउँछ । जौका जमरामा रहेका अनेक औषधीय गुणका कारण प्रसादस्वरूप कान वा शिरमा सिउरिने गरिएको हो । देवी भागवत पुराणका अनुसार त्रेतायुगमा भगवान् रामचन्द्रले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेका थिए ।

दशमीका दिन पूजा विसर्जन गरी देवीको प्रसाद लगाई विजययात्रामा निस्केको बताइन्छ । यसैले आश्विन शुक्ल दशमीलाई विजयादशमी भनिन्छ । पहिले पहिले राजाहरू नवदुर्गाको प्रसाद ग्रहण गरी युद्धमा निस्किने गरेको इतिहास पाइन्छ ।

आश्विन शुक्ल पक्षका १० दिन अवधि नेपाल र नेपाली मूलका हिन्दुहरू रहेका स्थानमा दसैं र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ । भारतीयले दशमीको दिन विसर्जन गरी घडा सोही दिन नदीमा सेलाउँछन् । नेपाली मूलका हिन्दुहरूले भने पूर्णिमासम्म टीका प्रसाद लगाउँछन् । पूर्णिमाका दिन विसर्जन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर