RUMPUM
animated ellipse animated ellipse

विराटनगर जुटमिल सञ्चालन गर्न १० करोड आवश्यक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७४, सोमबार २०:३८
3
Shares
विराटनगर, ९ असोज / मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ ।

मिल सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरीद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यक पर्ने भएको हो । सरकारले बजेट पठाउने आश्वासन दिएको तर अहिलेसम्म बजेट पठाउने कुनै चाँजोपाँजो नगरेको मिलका निर्देशक राजेन्द्र कार्कीको भनाइ छ ।

उनका अनुसार मिल सञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । भारतका उद्योगी राधाकृष्ण चमडियाले विसं १९९३ मा स्थापना गरेको विराटनगर जुटमिलको पूर्णरुपमा सञ्चालन हुने हो भने चार हजार मजदूरले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ ।

अहिले जुटमिल ऋणैऋणमा डुबेको छ । जुटमिललाई अहिले सावाब्याजगरेर तीन अर्ब २० करोड रुपैयाँ ऋण पुगेको छ । यी तमाम समस्याका बीच सञ्चालक समितिले जुटमिललाई सञ्चालन गर्नका लागि अहिले जुटमिलका मेसिन मर्मतको कामलाई तीव्रता दिएको छ ।

मिलका मेसिन तथा पार्टपुर्जाको इञ्जिनियर सौरभ विष्ट नेतृत्वको प्राविधिक टोलीले मर्मत सुरू गरेको हो । मिलको मर्मतसम्भारपछि आगामी मंसिरदेखि जुटका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको छ । व्यवस्थापन समितिका अनुसार मिलमा ७० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपुर्जा मर्मत गर्नुपर्ने अवस्थामा छन् । प्राविधिक टोलीले करीब दुई महिनामा मर्मतको कामसक्ने जनाइएको छ ।

एक महिनाभन्दा बढी उनीहरूले काम गरिसकेका छन् । यसबाहेक करीब १० करोड रुपैयाँ लागतमा आधुनिक पार्टपुर्जा जडान गरिने व्यवस्थापन समितिले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यकपर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको छ ।

लामो समयको विवादसँगै आर्थिक अपचलनका कारण समस्यामा परेको विराटनगर जुटमिल फेरि सञ्चालनको तयारीमा छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर