रामचन्द्र अधिकारी
विराटनगर, २७ श्रावन / स्नातकोत्तर क्याम्पस विराटनगरले नवनिर्वाचित मेयरलगायत वडाअध्यक्षहरुलाई महानगरको समग्र विकासको लागि आज एक कार्यक्रमको आयोजना गरी सुझाव दिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरको विकासको आधारशीला तयार भइरहेको बताए । उनले सडक पुनर्निमाण,ढल निकास,वृक्षारोपणजस्ता कार्यहरु भइरहेको बताएका छन् । उनले भने– अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाइरहेका छौँ र पाँच वर्षभित्रमा विराटनगरको मुहार फेर्छौँ । विज्ञहरुले दिएका सुझावहरुलाई आत्मसात गर्दै अगाडि बढ्ने र विज्ञहरुकै समूह निर्माण गरी काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
स्नातकोत्तर क्याम्पसद्वारा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्दै विज्ञ एवम् प्राध्यापकहरुले विकासका विभिन्न आयामहरु प्रस्तुत गरेका थिए । विराटनगरलाई नेपालको एक ठूलो एवम् नमुना शहर बनाउनका लागि यहाँको आर्थिक,सामाजिक,साँस्कृतिक,पर्यटकीय,शहरी पूर्वाधार,वातावरणीय,शैक्षिक र विज्ञान तथा प्रविधिको विकास गराउन सुझाव दिइएको क्याम्पस प्रमुख डा.मनोजकुमार राउतले बताए । उनले महानगरलाई समृद्ध बनाउनका लागि क्याम्पसले गर्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने र १ नं प्रदेशकै स्नातकोत्तर तहमात्र पढाइ हुने एक मात्र उक्त क्याम्पसलाई पनि समृद्ध बनाउन महानगरको सहयोग आवश्यक पर्ने पनि बताए ।
कार्यक्रममा साँस्कृतिक,पर्यटन र शहरी विकासको बारेमा प्राडा सोमप्रसाद खतिवडाले अवधारणापत्र प्रस्तुत गर्दै सिंगिया र केशलिया नदीको भरपुर प्रयोग,विभिन्न संग्राहलय निर्माण,सार्वजनिक धारा,शौचालय आदिको प्रवन्ध गरिनु पर्ने सुझाव दिए । त्यसैगरी विराटनगरको शिक्षा विकासको लागि प्राडा चक्रपाणी खनालले यो महानगरलाई उच्च स्तरको शैक्षिक हबको रुपमा विकास गर्न सकिने बताउँदै र त्यसका लागि मार्ग चित्रसमेत अवधारणापत्रमा प्रस्तुत गरे ।
प्राडा तेजनारायण मण्डलले महानगरमा यथेष्ट वैज्ञानिक खोज अनुसन्धान गरिनु पर्ने,विज्ञान केन्द्र तथा संग्राहलय र हर्वेरियम हाउस स्थापना गरिनु पर्ने,चिडियाखानालगायत विद्धतवृत्तिको व्यवस्था गर्न अवधारणा पत्रमार्फत सुझाव दिए । प्राडा प्रमोदकुमार झाले अवधारणापत्र प्रस्तुत गर्दै चार वटा देशको व्यापारिक केन्द्र बन्न सक्ने संभावना रहेको विराटनगरको आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा मार्ग चित्र देखाए ।
डा.तिलकराम सरदार, प्राडा शशिनाथ झा, प्राडा दामोदर थापा,प्राडा अनिल पोखरेल,प्रकाशकुमार यादव,दीपेन्द्र मण्डल,वातावरण इन्जिनियर घनश्याम काफ्लेलगायत वडा नं १४ का अध्यक्ष वलदेव यादव र विज्ञ तथा कर्मचारी र विद्यार्थीहरुले महानगरको विकासको बारेमा आ आफ्ना धारणाहरु राखेका थिए ।