विराटनगर, २६ साउन/ स्थानीय पत्रपत्रिकाको सेवा सुविधा वृद्धि तथा पत्रकारिताको विकासका लागि आवश्यक सुझाव दिन पत्रकार महासंघ मोरङले ६ सदस्यीय कार्यदल बनाएको छ ।
विराटनगरबाट सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन संचारमाध्यामको विकासका लागि स्थानीय सरकारले गर्नु पर्ने कामको विषयमा सुझाव संकलनका लागि कार्यदल गठन गरिएको हो । कार्यदलले ३ दिनको समय पाएको छ । कार्यदलमा स्थानीय जनविद्रोह दैनिकका प्रधानसम्पादक विवेक गौतमको संयोजकत्वमा, रेडियोकर्मी सुमन सुस्केरा, साप्ताहिक/पाक्षीक र मासिक पत्रपत्रिकाको तर्फबाट अग्रज पत्रकार केशव कार्की र ललिता भट्टराई, अनलाइनकर्मी तेजेन्द्र भण्डारी र मकालु टेलिभिजनका सञ्चालक दिवस सुवेदी रहेका छन् ।
कार्यदलले आज दिउँसो एक कार्यक्रमकाबीच संचारमाध्याम संचालकहरुसँग आवश्यक सुझाव दिएको छ । सुझाव संकलनपछि कार्यदलले पत्रकार महासंघ मोरङलाई प्रतिवेदन बुझाउने छ । प्रतिवेदनमाथि पत्रकार महासंघ मोरङको कार्यसमितिले आवश्यक छलफल गरी स्थानीय सरकारलाई बुझाउने अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए ।
छलफलमा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार मोहन भण्डारी, पूर्व अध्यक्ष विक्रम निरौला, प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लव घिमिरे, प्रेस चौतारीका केन्द्रीय लेखा आयोग सदस्य विक्रम लुईटेल, प्रेस सेन्टरका केन्द्रीय सचिब विवेक गौतम, प्रेस युनियन मोरङका अध्यक्ष मिनकुमार नवोदित, विएफका निर्देशक डा.सन्देशदास श्रेष्ठ, स्वतन्त्र पत्रकार तेजेन्दै भण्डारी र मकालु टेलीभिजनका सिइयो दिवश सुबेदीलगायतले आआफ्नो भनाई राखेका थिए ।