जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धाण गर्नु पर्नेमा जोड
खबर पूर्वाञ्चल
१७ श्रावण २०७४, मंगलवार १४:१४
3
Shares
विराटनगर, १७ साउन / निर्वाचन क्षेत्र निर्धाण आयोगले आज मोरङका राजनितिक दल तथा सरोकारवाला व्यक्तिहरुसंग सुझाव संकलन गरेको छ ।
विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघिय समाजवादी फोरम, लोकतान्त्रीक फोरम, राजपालगायतका विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै आयोगका सदस्य गणेशराज कार्कीले आयोगलाइ दिइएको समयसिमा भित्रमा क्षेत्र निर्धारण गर्न आफुहरु अहोरात्र खटिरहेको जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङबाट निर्वाचित सांसद डाक्टर शेखर कोइरालाले निर्वाचन क्षेत्र निर्धारण आयोग संबैधानिक आयोग भएकाले यसका निर्णयहरु निष्पक्ष हुनेमा विश्वास व्यक्त गरे । साथै उनले जनसंख्या र भुगोलका आधारमा मोरङमा कम्तिमापनि सात वटा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेकपा एमालेका मोरङ जिल्ला अध्यक्ष बिनोद ढकालले स्थानिय तह र जातिय क्लस्टरलाई नटुक्राइ मोरङमा सात वटा क्षेत्र निर्धाण गर्न सुझाव दिए । त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य गणेश उप्रेतीले निर्वाचन क्षेत्र निर्धाण गर्दा जनशंख्यालाई मात्रै प्राथमिकता नदिइ भुगोललाई पनि आधार मान्नु पर्नेमा जोड दिए । त्यस्तै संघियसमाजवादी फोरमका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले भने आयोगले आफुहरु दिएको सुझाव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै जनशंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धाण गर्नु पर्नेमा जोड दिए ।
लोकतान्त्रीक फोरमका भक्ति माझिले पनि आयोगले कुनैपनि प्रभावमा नपरी साना दलहरुले दिएको सुझावलाइ पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । माझीले जातिय क्लस्टरका आधारमा क्षेत्र निर्धारण गर्नु पर्ने सुझाव व्यक्त गरे ।