किसोर श्रेष्ठ
उर्लाबारी, ६ जेठ /ढल निकासको ब्यवस्था नहुँदा वर्षेनी डुवानको समस्या खेप्दै आएको पूर्वी मोरङको उर्लाबारीमा करीव १ सय ३० मिटर क्षेत्रमा ढल निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरगत मोरङ क्षेत्र नं.९ का सांसद कोषमार्फत बीस लाख रुपैंयाँ र स्थानीय उपभोक्ताहरुबाट चार लाख रुपैंयाँ गरी जम्मा २४ लाख रुपैंयाँको लागतमा सो ढल निर्माण कार्य अघि बढेको हो ।
हिउँदको समयमा आकासबाट परेर जम्मा भएको पानीलाई मावा खोलामा पुर्याएर स्थानीय वासिन्दालाई निकास दिने उदेश्य सहित निर्माण कार्य अघि बढेको मावा शाखा पूर्व ढल निकास उपभोक्ता समितिका अध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिएका छन् ।
अघिल्लो वर्ष मावा खोलाबाट १ सय ३० मिटर पश्चिमको क्षेत्रमा निर्माण कार्य सम्पन्न भएको र यस वर्ष सोही स्थानबाट पश्चिमको ९० मिटर क्षेत्रमा निर्माण जारी रहेको पनि पौडेलले जानकारी दिएका छन् ।
कुल २ सय २० मिटर क्षेत्रमा अघिल्लो वर्ष ५२ ओटा र यस वर्ष ३६ वटा गरी ८८ ओटा होम पाईप लागेको समितिका सदस्य किसोर राईले जानकारी गराएका छन् । ढल निर्माण कार्य तीब्र रुपमा अघि बढेसँगै अघिल्लो वर्षहरुमा झै यस वर्ष स्थानीयले लगातारको वर्षातका कारण भोग्नु परेका समस्याबाट मुक्त हुने पनि राईले बताएका छन् ।