खबर पूर्वाञ्चल
५ जेष्ठ २०७४, शुक्रबार २३:०४
बिनु तिम्सिना
विराटनगर, ५ जेठ /यहिबर्ष मोरङमा स्थापना भएको अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानले दश प्रजातिका धानको वीउ सिफारिस गरेको छ ।
जसमा सुख्खा खेतमा लगाउने सुख्खा १ देखि ६ सम्मका ६ प्रकारका धान प्रतिष्ठानले सिफारिस गरेको छ । यस्तै डुवान हुने खेतका लागि स्वार्ण सव—१,स्वाम्वा सव—१, चेहेरान सव—१ लगायतका धान सिफारिस गरेको प्रतिष्ठानका कृषि अनुसन्धान तथा प्रचार अधिकृत कमल भट्टराईले बताए । अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानले धेरै प्रजातिका धानको वीउ सिफारिस गरिएकाले किसानले रोजी रोजी धान लगाउने पाउने प्रतिष्ठानले जनाएको छ ।
भट्टराइका अनुसार गत बर्ष मोरङमा स्वार्ण सव—१ प्रजातिको धानको उत्पादन राम्रो भएको पाइएको थियो । यो धान लगाएका किसानले प्रतिहेक्टर ६ मेट्रिकटनसम्म उत्पादन गरेको उनको दाबी छ । यो बर्ष मोरङका किसानका लागि हर्दिनाथ जातको चैते धान ५ टन निःशुल्क बितरण गरिएको छ ।
चार प्रजातिका बर्खे धान पनि बितरण गर्ने योजना रहेको जनाइएको छ । जसमा सुख्खा —३, स्वार्ण सव—१, चेहेरान सव—१ लगायत रहेका छन् । बर्खे धानको वीउ १० मेट्रीकटन बितरण गर्न लागिएको उनले बताए । प्रतिष्ठानले राष्ट्रिय वीउविजन कार्यालयबाट प्राप्त वीउ जिल्ला कृषि विकास कार्यालय मोरङ मार्फत किसान समूह, कृषि सहकारीलगायतलाई बितरण गर्ने छ ।
यस्तै वीउ उत्पादनका लागि २ टन मुल वीउ पनि निःशुल्क बितरण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । रोग किरा कम लाग्ने र उत्पादन पनि धेरै हुने भएकाले सिफारिस गरिएका प्रजातिको धान लगाउँदा किसानलाई फाइदा हुन्छ ।
मोरङमा गत बर्ष १ लाख ३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धान खेतिबाट ४ लाख मेट्रिकटन धान उत्पादन भएको थियो । किसानहरूले सिफारिस गरिएको प्रजातिको धान लगाउँदा उत्पादनमा ५० हजार मेट्रीकटन भन्दा धेरैले बृद्धि हुने प्रतिष्ठानले जनाएको छ । गत बर्ष मोरङमा बर्खे धान ८० हजार हेक्टर, चैते धान २० हजार र बोरो प्रजातिको हिउँदे धान ३ हजार हेक्टरमा खेति गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?