विराटनगर, १ जेठ÷ राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय महासचिव राजकुमार लेखीले संविधान संसोधन नगरी दोस्रो चरणको निर्वाचनमा गए बहिस्कार गर्ने बताएका छन् ।
संविधान संसोधन गर्न सत्ता पक्ष र प्रतिपक्ष अग्रसरता नदेखिएको बताउदै उनले जेठ ३१ अघि संविधान संसोधन नभए निर्वाचन बहिस्कार गरी प्रतिकार गर्ने बताएका हुन् ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लेखीले भने ‘हाम्रो माग सम्बोधन भएन भने तराईका २२ जिल्लामा चुनाव हुन दिदैनौ ।’
तराईमा स्थानीय तहको संख्या थप्नु पर्ने संविधान संसोधन गर्नु पर्ने लगायत माग सम्बोधन नगरे पार्टीले निर्वाचनको विरोध गर्ने चेतावनी दिए । थारु, आदिवासी र मधेसीहरुलाई संविधानले उपेक्षा गरेको बताउदै उनले संसोधन गरेर मात्र निर्वाचनमा जानु पर्ने बताए ।
जनआन्दोलन मार्फत जनताले राजालाई फालेपनि सेरबहादुर देउवा, केपी ओली र प्रचण्डले श्रीपेच विनाको राज भएको आरोप लगाए । मधेसी जनताको पक्षमा वकालत गर्दै आएका विजयकुमार गच्छदार र उपेन्द्र यादवले गद्धारी गरेको उनको गुनासो छ । सधै सत्ताको वरीपरी रहने विजयकुमार गच्छदार र उपेन्द्र यादवको भण्डाफोर गर्ने उनले जानकारी दिए ।
मधेसी जनतालाई अधिकार सम्पन्न गराउन मधेस केन्द्रित दलहरु एक ठाउमा आएको बताउदै नेता लेखीले मधेस केन्द्रित दलहरु एक भएपछि सत्तापक्ष अतालिएको आरोप लगाए । पहिलो जस्तो संविधान संसोधनमा आलटाल गर्न नहुने बताउदै नेता लेखीले संविधान संसोधन गरी सबै पक्षलाई निर्वाचनमा जाने बतावरण बनाउन सरकारस“ग आग्रह गरे ।