स्थानीय चुनावमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो
पूर्वाञ्चल खबर
३१ बैशाख २०७४, आईतवार १९:३१
3
Shares
फाइल तस्वीर
काठमाण्डौं बैसाख ३१ । निर्वाचन आयोगले तीन प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा कम्तीमा ७१ प्रतिशत मतदान भएको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले तीन प्रदेशका २ सय ८३ स्थानीय तहमध्ये २ सय ८१ मा मतदान भएको बताएका छन्। यसले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उत्साही बनाएको बताए। निर्वाचन केन्द्रमा प्राप्त भएपछि मतगणना प्रारम्भ गरिने उनले जानकारी दिए ।
हिमाली क्षेत्रका मतदान केन्द्रबाट हेलिकप्टरमा मतपेटिका ओसारिनेछ। ‘राजनीतिक तहसँग समन्वय गरी आज राति वा भोलि बिहानबाट मतगणना सुरु हुनेछ,’ उनले भने, ‘राति सुरु हुन नसकेको ठाउँमा भोलि बिहान हुनेछ।’
उनले निर्वाचन परिणाम स्वीकार गर्न सबै दलसँग आग्रह पनि गरेका छन्। आइतबार भएको मतदानमध्ये तीनवटा मतदान केन्द्रमा स्थगित भएको यादवले जानकारी दिए। स्थगित भएका मतदान केन्द्र काभ्रे, कालिकोट र दोलखा छन्। काभ्रेमा भएको झडपमा एक जनाको मृत्यु हुनु दुखद घटना भएको उनले बताए।