महाअभियोग प्रस्तावविरुद्ध हस्ताक्षर ज्ञापन पत्र सिडियो कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइयो
पूर्वाञ्चल खबर
२० बैशाख २०७४, बुधबार १८:२२
3
Shares
विराटनगर, २० बैशाख / अखिल नेपाल महिला संघ मोरङले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाएको महाअभियोग प्रस्तावविरुद्ध हस्ताक्षरसहितको ज्ञापन पत्र सिडियो कार्यालय मोरङ मार्फत सभामुखको सचिवालयमा पठाएको छ ।
सरकारले तिन दिनअघि प्रधानन्यायाधीश कार्कीमाथि संसदमा महाअभियोगको प्रस्ताव लगेको थियो । सरकार पूर्वाग्रही रुपमा प्रस्तुत भएकाले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ताको माग गर्दै हस्ताक्षर अभियान संचालन गरी आज सिडियो कार्यालय मार्फत सभामुखको सचिवालय र बोधार्थ प्रधानमन्त्रीको कार्यालयमा पठाइएको हो ।
२० हजार भन्दा बढीको संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सभामुखको सचिवालय र बोधार्थ प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाइएको अनेमसंघका केन्द्रीय सदस्य यशोदा अधिकारीले जानकारी दिइन् । मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आजै ज्ञापन पठाइने जानकारी दिए ।
विराटनगरको ट्राफिक चौकमा अनेमसंघ मोरङले महाअभियोगविरुद्ध मंगलबार हस्ताक्षर अभियान संकलन गरेको हो ।