पथरी, १९ बैशाख/ ट्रकलाई ओभरटेक गर्न खोज्दा पूर्वपश्चिम मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती टोलमा आज भएको सडक दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
दिउँसो डेढ बजेको समयमा को. २४ प ६०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको ना. ७ ख २६५१ नम्बरको बससँग ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।
अगाडी आउने यातायातको साधनको ख्याल नगरी ट्रकलाई ओभरटेक गर्ने क्रममा बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक पथरीशनिश्चरे–१० ऐयावारीका ४५ वर्षीय पृथ्वीबोल राईको ज्यान गएको हो ।
मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई उत्तरतर्फको गहिरो भागमा झरेको थियो । सो क्रममा, बसमा रहेका झापा विर्तामोडकी विमला तामाङ, गौरादह–६ की मेनुका भट्टराई र गीता भट्टराई, मोरङ डाँगीहाट–१ का अशोक धिमाल, उर्लाबारी–३ की गीता गौतम, उर्लाबारी–४ की गोमा विकसहित १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाइतेको पथरी हस्पिटलमा उपचार भइरहेको छ ।