ओखलढुंगा १६ वैशाख / नमस्ते साहित्य परिषद् ओखलढुंगाले नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि सक्रिय मीनकुमार नवोदितलाई सम्मान गरेको छ ।
परिषद्ले हरेक वर्ष प्रदान गर्ने नेपाली साहित्य जागरण युवा सम्मानबाट नवोदित सम्मानित भएका हुन् । ओखलढुंगाको रातमाटेमा आयोजित कार्यक्रममा नवोदितलाई वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने परिश्रमी र परिषद्का अध्यक्ष विष्णुदीप संकल्पले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए । त्यस्तै सोही अवसरमा विराटनगरका साहित्यकार देवी पन्थी, राधिका गुरागार्इं, झापाकी साहित्यकार खगेन्द्र खुसी, नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भारतको सिक्किम, दार्जेलिङसहित नेपालका काठमाडौं, पोखरा चितवन, नुवाकोट, खोटाङ, झापा, मोरङलगायतका साहित्यकारहरुको सहभागिता थियो । सोही अवसरमा वृहत साहित्य गोष्ठीसमेत गरिएको आयोजक संस्थाका अध्यक्ष विष्णुदीप संकल्पले जानकारी दिए ।