विराटनगर, १५ वैशाख / कवि हरि कट्टेलको हालै प्रकाशित माधवआनी खण्डकाव्यको शुक्रबार विराटनगरमा परिचर्चा गरिएको छ ।
प्रतिभा पुरस्कार प्रतिष्ठानले बजारमा ल्याएको मानवआनी खण्डकाव्यमा ३६३ श्लोक समावेश छन् । छन्दवाटिका विराटनगर प्रतिभा पुरस्कार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले माधवआनी खण्डकाव्यले कट्टेलको कवि व्यक्तित्वलाई बढाएको चर्चा गरे ।
कार्यक्रममा समालोचक भूषण ढुंगेलले छन्द लेखन कम हुँदै गएको अवस्थामा कट्टेलले खण्डकाव्य निकाल्नु अत्यन्तै प्रशंसनीय भएको उल्लेख गरे । ‘प्रेम प्रधान र विद्रोहीशीलताबाट माधवआनी खण्ड काव्य सिर्जना भएको देखिन्छ,’ ढुंगेलले भने, ‘हिन्दू नायक र बौद्ध धर्मावलम्बी नायिकाबीचको प्रेमलाई सशक्त रुपमा खण्ड काव्यमा उतारिएको उनले बताए ।
पूर्वको पशुपतिनाथका रुपमा रहेको खोटाङको हलेसीमा नायक माधव र नायिका आनीको भेटघाट भएपछि खण्डकाव्यको कथावस्तु अगाडि बढ्छ । खण्डकाव्यका विषयमा प्राडा टंक न्यौपाने, डा. भीम खतिवडा र प्राज्ञ उपेन्द्र पागलले पनि परिचर्चा गरे । उनीहरुले दुई फरक धर्म मान्नेबीचको प्रेम प्रसंगलाई उठाएर खण्डकाव्य सिर्जना गरेको बताए । साँचो प्रेममा जात, धर्म र संस्कृति टाढा हुने उनीहरुको तर्क थियो । ‘यो खण्डकाव्य अहिले लेखिनेभन्दा निकै माथिको खण्डकाव्यका रुपमा आएको छ,’ न्यौपानेले भने, ‘यसको मूल्यांकन समय गर्ने नै छ ।’
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, एनपी आचार्य, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, पत्रकार अनन्तराज न्यौपानेलगायतले खण्डकाव्यबारे आ–आफ्ना धारणा राखेका थिए । मावधआनी खण्डकाव्य कट्टेलको छैटौं कृति हो । यसअघि उनका विलौनैविलौना, आँखामा अल्झिएका आँखाहरु, अनावृत्त आकृतिलगायतका कृति प्रकाशित भइसकेका छन् । कट्टेल विगतमा अढाई दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय छन् ।