खबर पूर्वाञ्चल
१३ बैशाख २०७४, बुधबार १६:४२
बिनु तिम्सिना
विराटनगर, १३ बैशाख / स्थानीय तहको निर्वाचनमा खटिएका निर्वाचन अधिकृत तथा कर्मचारीहरु धमाधम फर्किन थालेका छन् ।
निर्वाचन गाउँगाउँमा पुगेका निर्वाचन अधिकृत तथा कर्मचारीहरु निर्वाचनको मिति लम्बिएकाले धमाधम फर्किन थालेका हुन् । निर्वाचन आयोगले प्रदेश नं. १, २, ५ र ७ को स्थानीय तहको निर्वाचनको जेठ ३१ गते सारेपछि निर्वाचन अधिकृतको कार्यालय बन्द गर्न लागिएकोले निर्वाचन अधिकृतहरुलाई दैनिक भ्रमण भत्ता दिएर सम्बन्धित कार्यालयमा फिर्ता पठाएको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद संजेलले बताए ।
मोरङमा रहेका १७ स्थानीय तहहरु मध्ये १६ वटामा निर्वाचन अधिकृतका कार्यालयहरु केहि दिन अघि मात्र स्थापना गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालय अब जेठ १२ गते देखि पुनः सञ्चालन आउने बताइएको छ । निर्वाचनको मिति सारिएका कारण निर्वाचनका अन्य गतिविधिहरु समेत प्रभावित भएका छन् । मतदाता शिक्षा कार्यक्रम रोकिएको र मतदाता शिक्षा स्वयंसेवकहरुलाई जेठ ५ गते देखि खट्ने जानकारी गराइएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
चैत २८ देखि ३० गतेसम्म चुनाव गराउनको लागि क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगको आयोजनामा प्रशिक्षण दिएर निर्वाचनमा खटाएको थियो । मेची र कोशी अञ्चलका एक सय चार जना निर्वाचन अधिकृतहरु आफ्नो कार्यास्थलमा पुगिसकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?