विराटनगर मेयरमा एमालेबाट एक दर्जन सिफारिस, उपमेयरमा चार जना
पूर्वाञ्चल खबर
८ बैशाख २०७४, शुक्रबार १९:४१
9
Shares
अनिल श्रेष्ठ
विराटनगर,८ वैशाख/स्थानीय तहको निर्वाचनमा विराटनगर उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमालेमा एक दर्जन र उपमेयरमा चार जना सिफारिस रहेको छ ।
उम्मेद्वारको अन्तिम टुंगो लगाउने समय आइपुग्दासम्म १२ जनाको नाम नगरसमितिले आज पार्टी स्थाइ कमिटिमा सिफारीस गरेको हो ।
एमाले नगर कमिटिका अनुसार व्यक्तिगत प्रभाव र नेताहरुको दबाबका कारण १२ जनाको नाम सिफारिस गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
एमाले नगरका इन्चार्ज सागर थापाका अनुसार वर्तमान अध्यक्ष विनोद ढकाल, निवर्तमान जिल्ला अध्यक्ष महेश रेग्मी, जिल्ला उपाध्यक्ष रामलाल साह, नगर इन्चार्ज सागर थापा, संगठन विभाग प्रमुख बाबुराम कार्की, विराटनगर उपमहानगरपालिकाका पूर्व कर्मचारी तारा निरौला, वर्तमान कर्मचारीहरु खेम नेपाली, नन्दिकेशर भण्डारी, सहकारी बैंकका केन्द्रीय अध्यक्ष रमेश पोखरेल, युवा संघका सचिव पर्शुराम बस्नेत, अनेरास्ववियूका सचिव वसिम आलम र कानून व्यवसायी चुडामणी आचार्यको नाम मेयरमा सिफारिस भएको छ । यि नामहरुको विषयमा जिल्ला समितिमा छलफलवाट मेयरको नाम तय गरिने छ ।
एमालेका विधार्थी नेता वसिम आलम पछिल्लो समयमा चर्चामा आएको नाम हो । केही दिन अगाडि भएको नगरसमितिको भेलामा उनको नाम मेयरमा चर्चामा आएको हो । पार्टी पंक्तिमा पछिल्लो समय सक्रियताका साथ लागेका आलमको नाम आएसगै यूवा संघका अर्का नेता पर्शुराम बस्नेतपनि आकाक्षीको लर्कोमा प्रवेश पाएका हुन । कतिपय व्यक्तिले नगरमा आफ्नो प्रभाव देखाउनका लागि पनि ‘प्रेसर’ सिर्जना गरेर नाम सिफारिस गर्न लगाएको वताइएको छ ।
जिल्ला समितिले एक दर्जन नामलाई घटाएर प्रदेश समितिलाई पठाउन सक्ने सम्भावना रहेको छ ।
नगर समितिका इन्चार्ज सागर थापाले अन्तिम समयमा बढी नाम सिफारिस भएको जानकारी दिएपनि को को सिफारिस भए भने खुलाउन चाहेनन् ।
त्यस्तै उपमेयरमा सावित्रा रेग्मी, विमला घिमिरे, शिल्पा कार्की र लिला रिजालको नाम सिफारिस गरेको छ । नगरले सिफारिस गरेको नाम पार्टी स्थायी कमिटिले वैशाख १२ गते टुङ्ग्याउने इन्चार्ज थापाले जानकारी दिए ।
श्रीमान/श्रीमतिकै नाम सिफारिस
विराटनगर उपमहानगरपालिकको मेयर र उपमेयरमा नेकपा एमाले नगर समितिले एउटै पार्टीका श्रीमान/श्रीमतिको नाम पनि सिफारिस गरेको छ । मेयरमा नेकपा एमाले मोरङका निर्वतमान अध्यक्ष मेहेश रेग्मी र उपमेयरमा अखिल नेपाल किशास संघको केन्द्रीय सदस्य सावित्रा रेग्मीको नाम सिफारिस गरको हो ।