विराटनगर, ३१ चैत÷ नेकपा माओवादी केन्द्रले सुनसरीको कोशी गाउँपालिका श्रीपुरमा आज भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
कोशी–५ को श्रीपुर मल्दैया टोलमा भएको आगलागीमा परी ४२ घर जलेर नष्ट भएका थिए । माओवादी केन्द्र प्रदेश नम्बर १ का संयोजक सावित्रीकुमार काफ्लेले एक विज्ञप्ति जारी गर्दै आगलागीबाट बस्ती नै जलेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा पीडित परिवारलाई तत्काल उद्धार गरी बसोबासको व्यवस्था मिलाउन र राहत उपलब्ध गराउन आग्रह गरिएको छ ।
माओवादी केन्द्रले पीडितको राहत र उद्धारमा खटिन स्थानीय पार्टी कमिटिलाई निर्देशन समेत दिँदै सुख्खा मौसममा हुने आगलागीका घटना रोक्न सतर्कता अपनाउन आम नागरिकमा आह्वानसमेत गरेको छ । यस्तै यस्ता घटना नियन्त्रण गर्न बारुणयन्त्रसहितका उपकरण पर्याप्त मात्रामा हरेक स्थानीय तहमा उपलब्ध गराउन पनि पार्टीले माग गरेको छ ।
आज मध्यान्ह श्रीपुरका मनरु मियाँको घरमा खाना पकाउँदा फुसको घरमा आगो सल्किएपछि सुरु भएको आगलागीमा बस्ती नै खरानी भएको थियो । बाक्लो बस्ती र फुसका घर भएका कारण ५ वटा दमकलले प्रयास गर्दा पनि आयोग नियन्त्रणमा सलन कठिन भएको सुनसरी प्रशासनले जनाएको छ ।
धरान, विराटनगर, राजविराज, इनरुवा र इटहरीबाट गएका दमकलले आगो नियन्त्रण गरेका थिए । आगलागीबाट भएको क्षतिको यकिन भइनसकेको प्रहरीले जनाएको छ ।