खबर पूर्वाञ्चल
२६ चैत्र २०७३, शनिबार १७:४५
उर्लाबारी, २६ चैत / आगामी बैशाख ३१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) नगर संगठन कमिटि उर्लाबारीले चुनाबी प्रचारप्रसार अभियान सुरु गरेको छ ।
आज मोरङको उर्लाबारीमा मुक्ति न्यौपानेको संयोजकत्वमा १ हजार ८ सय ७१ जनाको निर्वाचन प्रचारप्रसार समिति घोषणा गर्दै एमाले चुनावी प्रचारप्रसारमा होमिएको हो ।
समितिको सहसंयोजकमा खड्ग श्रेष्ठ, सचिवमा मछिन्द्र कार्की रहेको छन् । समितिको सदस्यमा १ हजार ७ सय ४८ जना संगठित सदस्यसहित जिल्ला नेतृत्वमा रहेका भातृ संगठनका सदस्य लगायत रहेका छन् । निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा बोल्दै संयोजक न्यौपानेले उम्मेद्वार छनोटको तयारीसँगै अब सिंगो पार्टी प्रचारप्रसारमा होमिएको बताए ।
उर्लाबारीमा एमालेको जित सुनिश्चित भईसकेको बताउँदै न्यौपानेले प्रचारप्रसार समितिका एक जना सदस्यले १० जनालाई मतदान गर्न लगाए पार्टीको जित त्यसै सजिलो रहेको बताए । उर्लाबारीका ९ वटै वडामा पनि प्रचारप्रसार समिति गठन हुने बताउँदै उनले त्यसपछि झनै तिब्र रुपमा प्रचार अभियान सुरु गरिने उद्घोष गरे ।
माओवादी केन्द्रबाट गोपाल थापा, रेवत थापा, रमेश पौडेल,माओवादी केन्द्रकी क्षेत्रिय सदस्य यमकुमारी विक, संघिय समाजवादी फोरम उर्लाबारीको नगर युवक संगठन कमिटिका सचिव प्रेम शर्मा, नेपाली काँग्रेसबाट तिलरुपा रेग्मी, रामबहादुर बोहरा लगायत गरी दुई दर्जन बढी नेकपा (एमाले)मा प्रबेश गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा (एमाले) का पोलिटव्युरो सदस्य लालबाबु पण्डितले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताए । नेता पण्डितले सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन सार्न खोजिरहेकाले एमालेले त्यसलाई सफल हुन नदिने बताए ।
आगामी स्थानिय तहको निर्वाचनमा दुई तिहाई बढी तहमा एमालेले जित्ने दाबी गर्दै नेता पण्डितले सत्तारुढ दलहरु आत्तिएर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले जनताको अभिमतबाट नै एमालेसँग निहु खोज्नेहरुलाई परास्त गर्ने उद्घोष समेत गरे ।
अबको स्थानित तह धेरै अधिकार सम्पन्न हुने बताउँदै उनले उम्मेद्वार छनोटमा विशेष ध्यान पुर्याउन आग्रह समेत गरे ।
नेकपा (एमाले)की केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, बैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ,मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल, जिल्ला सदस्य एवम् मोर्चा विभाग प्रमुख रुपेश खतिवडालगायतले स्थानिय तहको निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?