विराटनगर, २३ चैत / कवि शंकर सुवेदी ‘उत्स’ कवितासंग्रह उल्का खसेको रात बुधबार विराटनगरमा विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ नागरिक विष्णुदेवी दाहाल, प्राज्ञ विवश पोखरेल, दधिराज सुवेदी र एनपी आचार्यले संयुक्त रुपमा कविता संग्रहको विमोचन गरेका छन् । दुई दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय सुवेदीको उत्का खसेको रात पहिलो कविता संग्रह हो । यसभन्दा अघि उनका विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित हुँदै आएका थिए ।
विमोचित कविता संग्रहका बारेमा साहित्यकार कृष्ण वस्ती र भक्तिप्रसाद पौडेलले समीक्षा गरेका थिए । उनीहरुले उल्का खसेका रातभित्रका कविताहरु सशक्त र समसामयिक भएको चर्चा गरे ।
कवि भरत गुरागाईं र रोमा निरौलाले कृति भित्रका कविता वाचन गरेका थिए भने कवि हरि कट्टेलले कृतिकारको परिचय प्रस्तुत गरे । सो अवसरमा प्राज्ञ एनपी आचार्य, दधिराज सुवेदी, साहित्यकार सरला चापागाईं, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले संग्रहको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कृतिभित्र विभिन्न विषयवस्तुलाई समेटेर लेखिएका ४६ वटा कविताहरु संग्रहित छन् ।