विराटनगर, २२ चैत / दसगज्जा क्षेत्र र नेपाली भूमी मिचेर मोरङको मझारे ९ तारेगामा स्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएको पक्की सडकलाई भारतीय पक्षले मान्यता दिएको छ ।
मझारे स्थित तारेगामा र भारतको अररिया स्थित सुनामनी गुदामको सीमानामा निर्माण गरिएको डेढ किलोमिटर लामो सडकलाई नभत्काईकन भारतीय पक्षले मान्यता दिएर प्रयोगमा ल्याएको छ ।
लगभग दुई महिना अघि दसगज्जा क्षेत्र र नेपाली भूमी मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण थालेसंगै नेपाली अधिकारीले आपत्ती जनाएका थिए ।
यस विषयलाई लिएर भएको दुई देशका अधिकारीबीचको बैठकमा अन्जानमा सडक बनाउने नाममा दसगज्जा र नेपाली भूमी मिचिन गएको भन्दै बनाइएको सडक भत्काएर भारततर्फ सार्ने सहमति समेत भएको थियो ।
भारतीय अधिकारीसँग समन्वय गर्दै प्रमुख नापी अधिकृत सुशील डंगोल नेत्रृत्वको टोलीले सीमाना छुट्याएर भारतले सडक निर्माण गर्न पाउने स्थानको टुँगो लगाएको थियो । तर सडक भत्काएर भारत पट्टी सार्नको साटो सडक निर्माण थालिएको पुरानै स्थानमा निर्माण सम्पन्न गरेर त्यसैलाई मान्यता दिइएको स्थानीय बासिन्दाको भनाइ छ ।
नेपाली र भारतीय अधिकारीबीच भएको सहमति विपरित भारतीय पक्षले बलमिच्याई हिसावमा सडक निर्माण गरेर कालोपत्रे गरिसकेको छ । सतह उठाएर भारतीय पक्षले निर्माण गरेको सडकका कारण नेपाली भूमी डुवानमा पर्ने खतरा पनि बढेर गएको स्थानीयले बताए ।
प्रमुख नापी अधिकृत डंगोलले दसगज्जा मिचिएको स्थानबाट सडक सार्न भारतीय अधिकारीसंग सहमति भए पनि त्यसपछि त्यहाँ के भइरहेको छ भन्ने कुरा थाहा नभएको बताए ।
‘भएको सहमति भारतीय पक्षले कार्यान्वायन गर्नु पर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘भारतले सडक निर्माण गर्न पाउने स्थानको टुँगो लगाएपछि त्यसतर्फ पुग्न पनि भ्याइएको छैन ।’ दसगज्जा र नेपाली भूमी मिचेर भारतीय पक्षले निर्माण गरेको संरचना हटाउन पहल गर्नका लागि कहाँ कहाँ अतिक्रमण भइरहेको छ भनेर सीमा क्षेत्रको नापी गर्ने काम सुरु गरिएको डंगोलको भनाइ छ ।