वडाध्यक्षका आकांक्षी लामा भन्छन्,‘ पार्टीले टिकट दियो भने जिम्मेवारी निर्वाह गर्न तयार छु’
खबर पूर्वाञ्चल
२२ चैत्र २०७३, मंगलवार १५:४१
9
Shares
उर्लाबारी, २२ चैत । उर्लाबारी क्षेत्रमा चिरपरिचित नाम हो, राजु लामा । साविक उर्लाबारी–२ हाल वडा नं.५ निवासी ३७ बर्षीय लामा भिजन फाउण्डेशन नेपालका अध्यक्ष हुन् ।
युवाहरुको माध्यमबाट समाजमा सकारात्मक परिर्वतनका लागि रचनात्मक कार्य गर्नु पर्छ भन्ने उद्देश्यका साथ उनले सामाजिक गतिबिधि अघि बढाईरहेका छन् । विभिन्न संघसंस्थामा आबद्ध रहेपनि उनी भिजनको मात्र नेतृत्वमा छन् । उनी सामाजिक गतिबिधिको अलवा राजनीतिमा पनि उत्तिकै सक्रिय छन् ।
‘नेतालाई गाली गरेर मात्र केही हुँदैन, आफैंले केही गर्नु पर्छ’ भनेर उनी नेपाली कांग्रेसमा आबद्ध भएका थिए । पारिवारीक पृष्टभूमि नै कांग्रेस भएकाले उनी सोही पार्टीमा आबद्ध भए । नेपाल तरुण दल उर्लाबारी नगर सभापतिको जिम्मेवारी पूरा गर्दै उनी अहिले नेपाली कांग्रेस उर्लाबारीको सचिब पदमा रहेका छन् ।
स्थानीय तहको आगामी बैशाख ३१ गते हुने निर्वाचनमा उर्लाबारी नगरपालिका वडा नं. ५ बाट आफूलाई वडाध्यक्षको सशक्त दाबेदारका रुपमा उनले प्रस्तुत गरिरहेका छन् । युवापुस्ता माझ लोकप्रिय रहेका लामा यतिबेला नेपाली कांग्रेसबाट वडाध्यक्षमा टिकट पाउने सम्भावित नाममा पर्छन् । लामा भन्छन,‘पार्टीले मलाई योग्य सम्झेर टिकट दियो भने त्यो जिम्मेवारी निर्वाह गर्न म तयार छु ।’
अग्रजहरुलाई सम्मान गर्दै युवाहरुलाई पनि पार्टीले समेटेर जानु पर्ने उनको धारणा छ । पार्टीले योग्य र जनता माझ लोकप्रिय ब्यक्तिलाई टिकट दिनेमा उनी आशाबादी छन् । ‘जसले टिकट पाउनु हुन्छ, उनी पार्टी मात्र होइन जनतामा पनि उत्तिकै लोकप्रिय ब्यक्ति हुन् उनले भने । विकास भनेको आफ्नै ठाउँबाट सुरु गर्नु पर्छ भन्ने दृढ विश्वासको साथ अगाडी बढ्दै लामाले लामो समयदेखि सामाजिक गतिबिधि गरिरहेका छन् ।
समाज सेवाको कार्यमा आफूलाई निकै सन्तुष्टि मिल्ने र देशको लागि पनि केही योगदान दिन सकेको महशुस आफूलाई हुने कुरा उनले उल्लेख गरेका छन् । हामी सबै नेपाली हांै र हामी यस देशको नागरिक भएको हुनाले पनि सबैले आफ्नो क्षेत्रबाट देश विकासको काममा अग्रसर हुनु पर्ने उनको धारणा रहेको छ ।