महिलाहरु आर्थिक र शैक्षिक रुपमा अगाडि बढ्न सके मात्र लैङिग्क हिंसा कम हुने
खबर पूर्वाञ्चल
२१ चैत्र २०७३, सोमबार १६:३४
3
Shares
विराटनगर, २१ चैत / महिलाहरु आर्थिक र शैक्षिक रुपमा अगाडि बढ्न सके मात्र लैङिग्क हिंसा कम भएर जाने आज विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
महिला तथा बालबालिका कार्यालय मोरङको आयोजनामा भएको लैङिग्क हिंसा निवारणमा संचारकर्मीहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले नेपालको संविधानमा छोरा समान छोरीलाई अंश र वंशमा अधिकार भनिएको भएपनि व्यवहारीक रुपमा कार्यान्वयन भई नसकेको जानकारी दिए । उनले महिलालाई शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक रुपमा सवल बनाउन सके लैङिग्क हिंसा कम भएर जाने बताए । उनले अहिले पनि समाजमा पितृसतात्मक सोच, पुरुषप्रतिको सामाजिक मान्यता,शक्ति तथा सत्तामा महिलाको न्यून पहुच लगायतका कारण महिलाहरु लैङ्गिक हिंसामा पर्ने गरेको जानकारी दिए ।
महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले महिलाहरुलाई सीप सिकाएर अगाडि बढाउन कार्यालयले विभिन्न प्रकारका कार्य गर्दे आएको जानकारी दिइन् । उनले महिला तथा बालबालिका कार्यालयमा लैङिग्क हिंसा निवारण राहत कोष, मानव बेचबिखन प्रभावितहरुका लागि पुर्नस्थापनका कोष, आपतकालिन बाल उद्धार कोष र एकल महिला सुरक्षा कोष रहेको बताइन् । उनले यी कोषहरुबाट अवस्था अनुसार २ हजारदेखि २० हजारसम्म राहत दिन सकिने व्यवस्था भएको बताइन् ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले समाजमा हुने सबै खाले हिंसा र विकृतिका विरुद्धमा कलम चलाउने पत्रकारहरुको समेत हिंसा न्यूनिकरणमा महत्वपूर्ण भुमिका हुने बताए ।
युनिसेफ विराटनगरकी बाल संरक्षण अधिकृत अन्नपूर्ण मिश्राले समुदायमा आधारीत बाल संरक्षण तथा महिला संरक्षणका बिषयहरु तथा संचारकर्मीहरुको भूमिका बिषयमा अवगत गराए ।