तेजन खड्का
उर्लाबारी,२० चैत/ ‘पुसको कठ्याङ्ग्रीदो जाडो होस या गर्मी, टन्टलापुर घाम होस वा लगातारको झरी , जुन सुकै मौसममा पनि, उत्तिकै व्यस्त देखिने यो दिन चर्या – पूर्व पश्चिम राजमार्गमा सरसफाईको जिम्मा पाएका सफाई कामदारहरूको हो । उनीहरूको बारेमा थोरैले मात्र बुझेका छन् । धेरैलाई उनीहरूको भुमिका र कामबारे थाहा छैन् । तर, सडकमा हुने साना देखि ठूला दुर्घटनाका प्रत्यदर्शी हुने उनीहरूले दुर्घटना न्यूनिकरणमा जिम्मेवारी पूर्वक भुमिका निर्वाह गरिरहेका हुन्छन् ।
मोरङको उर्लाबारी–६ चन्दनेका अगमबहादुर भुजेलले सरसफाईको काम गर्न थालेको १८ वर्ष लाग्यो । माथिल्लो भागमा रातो झण्डा र मुन्तिर पट्टि कुचो भएको एउटा दह्रो लौरो बोकेर सडक सरसफाईमा निस्कने भुजेल ६२ वर्ष पुगे । तर, पनि उनी कामप्रति वफादार छन् ।
दैनिकजसो बिरालो, कुकुर, सर्प मरिरहेका हुन्छन् । सार्वजनिक सवारीको अत्यधिक चाप हुने सुनसरीको इटहरी देखि पूर्व झापाको दमकसम्म दैनिक २५ हाराहारी कुकुर बिरालो र सर्प मारिने गर्छन् ।
जागिर सुरु गरेदेखि यही क्षेत्रमा कार्यरत भुजेल सडकमा मारिएका मुद्दा नलाग्ने पशु, चौपायको अन्त्येष्ठि गर्दै जागिरे समय बित्न लागेको बताउछन् । उनी भन्छन् –१८ वर्ष यता सडक विस्तार हुन सकेको छैन् । सवारी साधन हरेक दिन जसो थपिएका छन् सडकले सवारी साधनको चाप धान्न सक्ने अवस्था छैन् ।त्यसैले दुर्घटना हुने क्रम बढेको छ । ’
सडकमा दुर्घटनामा परी मरेका चौपायको व्यवस्थापन मात्र होइन । सडकको किनारमा भएको झाडी फाड्ने, निर्माणका सामग्री बोक्ने ट्याक्टर, ट्रकले झारेको ढुंगा, गिट्टी, बालुवा, माटो सडकबाट हटाउने काम पनि भुजेल कै जिम्मामा हुन्छ ।
ट्राफिक नियम पालन नगरी सवारी साधन चलाउने गरेकोले विगतको तुलनामा अहिले कामको बोझ बढेको भुजेलको ठम्याई छ । भुजेलले भन्दै गए–‘हामीलाई सडक सरसफाइको काममा कसैले सहयोग गर्दैन् ।’
सामान्यता सडक विभागले तराईको राजमार्ग क्षेत्रमा ५ किलोमिटरमा, पहाडमा तीन किलोमिटरमा र शहरी क्षेत्रमा प्रत्येक एक किलो मिटर क्षेत्रमा एक जना सरसफाई कर्मचारीको ब्यवस्था गर्ने गरेको छ ।
उर्लाबारी क्षेत्रको ५ किमि सडकखण्डको सरसफाईको जिम्मा पाएका भुजेल दुर्घटना घटाउन सफाई कर्मचारीलाई समेत ट्राफिक चेतना दिनु पर्ने बताउछन् । विगत सम्झदै उनले भने – ‘दुर्घटनामा परि एक जनाको घटनास्थलमा नै विभत्स मृत्यु भयो । प्रहरीले टुक्रा टुक्रा बटुलेर पोष्टमार्टम गर्न लग्यो । तर शरीरको केही भाग दुर्घटना स्थलमा नै छोडिएको थियो । मैले त्यो छोडिएको टुक्राहरू भेला गरेर पोष्टमार्टम गर्न पु¥याई दिएँ ।’ भाउन्ने –कानेपोखरी –छ धारे सडकखण्डमा काम गर्ने कर्णबहादुर राईको भोगाई अझ पिडादायी छ । जंगल क्षेत्र भएकाले गाउँ तिरबाट सयौंको संख्यामा चरनका लागि चौपायहरू आउने गर्छन् ।
वर्षायाममा चौपायको चाप हुदैन । हिउँद महिनामा त गाईवस्तु मुख्य सडकमा बसेर सडक नै अबरुद्ध गरि दिन्छन् । सडकमा नै गोव्र्याउँछन् । १० बजे देखि ५ बजे सम्म गाईबस्तुको गोबर फाल्ने र सडकबाट चौपाय हटाउँदै दिनचर्या बित्ने उनको भनाई छ ।
मोरङको पथरी शनिश्चरे– १५ का राई १६ वर्ष देखि सरसफाई पेशामा छन् । जंगलक्षेत्र भएकोले कामको चाप बढि भएको राईले बताए । उनले भने–‘तीन सय भन्दा बढी दुर्घटना आँखै अगाडि भएका छन् ।’
राई आफ्नो इलाका भरिको सडकलाई जहिल्यै सफा राख्ने गरेको बताउछन् । सडकमा ठूला सवारी साधनले मारेको सर्पका कारण मोटरसाइकल चालक दुर्घटनामा परेको घटना उनको आँखा अगाडि आईरहन्छ । भन्छन्–बसले सर्प मारेछ । त्यो सर्प सडकबाट हटाउने जिम्मा मेरो नै थियो तर थाहा पाँइन । केही छिनमा एउटा मोटरसाइकल त्यही दुर्घटनामा प¥यो ।
मोटरसाइकल दुर्घटनामा पर्नुको कारण मरेको सर्प नै थियो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएको राईले बताए । राजमार्ग सरसफाइ गर्ने सडक विभागका यी कर्मचारीहरू सबै करार सेवाका हुन् ।
विभागले हरेक वर्ष रेनकोट, ज्याकेट, जुत्ता र एक सरो लुगा बाहेक कुनै सुविधा दिएको छैन् । यद्यपि उनीहरूले आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।
महेन्द्र राजमार्गको पथरी–छधारे सडक खण्डमा काम गर्ने रहनसिंह राई विरामी परेपछि सरसफाईको काम उनका नाति शेरबहादुरले गर्न थालेका छन् । शेरबहादुर भन्छन्– हाम्रो काम सडक सरसफाई हो । तर सडक प्रयोग गर्नेले सरसफाई गर्न नसके पनि फोहोर फालि दिनुभएन ।’
पछिल्लो समय सडक विभागले सडकका खाल्डा खुल्डी पुर्न र सानो तिनो मर्मत गर्न पनि उनीहरूलाई नै प्रयोग गर्न थालेको छ ।
उता ट्राफिक प्रहरी कार्यालय बेलबारीका प्रहरी सहायक निरीक्षक लिलाबहादुर श्रेष्ठ सडक कर्मचारीको भुमिका बारे अनविज्ञ रहेको बताउछन् । उनी भन्छन्– ट्राफिक र सडक कर्मचारीबीच अहिले सम्म समन्वय छैन् । कामदारहरु बुढापाका छन् । काम त गर्छन, तर समन्वय नगरी ।’