निर्वाचन नभएमा संविधान कार्यान्वयन नहुने र संघियता खतरामा पर्ने– पौडेल
पूर्वाञ्चल खबर
१६ चैत्र २०७३, बुधबार २०:५०
3
Shares
विराटनगर, १६ चैत /नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपसी मत मतान्तरलाई त्यागेर स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकतालाई आग्रह गरे ।
नेपाली कांग्रेस विराटनगरको नगर सम्मेलनमा बोल्दै उनले देश संकटको अवस्थामा रहेकाले आपसी मत मतान्तरलाई त्यागेर निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । निर्वाचन नभएमा संविधान कार्यान्वयन नहुने र संघियता खतरामा पर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले चुनावलाई भयरहित बनाउन संविधानसँग गाँसिएका असन्तोषलाई समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मधेशवादी दलहरुले आफूले भने जस्तै संविधान संशोधन हुनु पर्ने हठ त्याग्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, डा. शेखर कोइराला, डा. डीला संग्रौला, नेपाली कांग्रेस मोरङका निवर्तमान सभाति एवं सांसद अमृत अर्याल, मोरङ सभापति डिगबहादुर लिम्बूलगायतले नेताहरुले सहमति, सहकार्यलाई जोड दिएर चुनाव गर्नु पर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सम्मेलन आयोजना गरिएको नगर सभापति भीम पराजुलीले जानकारी दिए ।