विराटनगर, ११ चैत/ नेपाल पत्रकार महासंघ मोरङले यसै वर्ष स्थापना गरेको देशकै पहिलो सूचनाको अधिकार षष्टिका बस्नेत स्मृति सूचनाको अधिकार पुरस्कार–२०७३ राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्त विनय कसजुलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघको जिल्ला समितिको आज बसेको बैठकले पुरस्कार छनौट समितिले सिफारिस गरेको कसजुको नाम अनुमोदन गरेको हो । पुरस्कारको राशी ५० हजार ५१ रहेको छ ।
कसजुले सूचनाको हक सम्बन्धी ऐन, कानून निर्माण हुनुभन्दा पहिल्यै यससम्बन्धी समुदायतहमा काम गरेका र ऐन निर्माणपछि राष्ट्रिय सूचना आयोगको प्रथम प्रमुख आयुक्तको महत्वपूर्ण जिम्मेवारी बहन गरी यसलाई संवैधानिक आयोगसमेत बनाउन भूमिका खेलेका कारण पुरस्कारको सिफारिस गरिएको महासंघ मोरङले जनाएको छ ।
विराटनगरका समाजसेवी केदारबहादुर बस्नेतले आफ्नी श्रीमतीको स्मृतिमा यसैवर्षदेखि पत्रकार महासंघ मोरङमार्फत प्रदान गरिने गरी उक्त पुरस्कारका लागि ७ लाख रुपैयाँको अक्षयकोष स्थापना समेत गरेका छन् । सूचनाको अधिकारको क्षेत्रमा काम गर्ने देशका तथा विदेशका जो कोही नागरिक या संस्थालाई उक्त पुरस्कार दिन सकिने कार्यविधिमा उल्लेख छ ।
पुरस्कार प्रदान गर्न यसअघि महासंघले पत्रकार महासंघ मोरङकै अध्यक्ष बन्धु पोखरेलको संयोजकत्वमा अग्रज पत्रकार यज्ञ शर्मा र सूचना अभियन्ता निर्मल तामाङ रहने गरी तीन सदस्यीय समिति निर्माण गरेको थियो । समितिले आएका २५ भन्दा बढी नाममध्ये कसजुलाई पुरस्कार प्रदान गर्ने सिफारिस गरेको मोरङ पत्रकार महासंघका सचिव अर्जुन आचार्यले बताए ।
उक्त पुरस्कार नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आउँदो चैत १६ गते एक कार्यक्रमकाबीच प्रदान गरिनेछ । महासंघको स्थापना दिवसमा पुरस्कार प्रदानको कार्यक्रमसँगै सूचनाको अधिकारको विषयमा समेत वृहत अन्तरक्रिया गर्ने महासंघ मोरङले जनाएको छ ।