उर्लाबारी, १० चैत / आफ्नो गाउँ आफैं बनाऔं भन्ने मान्यताका साथ मोरङको उर्लाबारी–७ का युवाहरुले आफ्नो गाउँ बनाउने अभियानमा जुटेका छन् ।
उर्लाबारी–७ चिउरामिलस्थित नवयुवा समाजले चिउरामिल चौक क्षेत्रलाई ब्यवस्थित बनाउने प्रयास थालेको छ । उक्त क्षेत्रलाई ब्यवस्थित बनाउने प्रयास स्वरुप आज आधा दर्जन बढि रिङहरुमा धुपीका विरुवाहरु रोपिएको कार्यक्रम संयोजक तेजनारायण राजवंशीले बताएका छन् ।
उक्त क्षेत्रलाई ब्यवस्थित बनाउन स्थानीय बेथेल एजुकेशन एकाडेमीका संस्थापक प्रिन्सिपल दिपक न्यौपाने, ब्यवसायी विष्णु गुरागाई, खगेन्द्र गुरागाई, सरोज बस्नेतलगायतको सहयोगमा रिङमा धुपी रोपेर ब्यवस्थित बनाइएको समाजका अध्यक्ष विवेक नेपालीले जानकारी दिए ।
स्थानीय युवाहरुको उल्लेखिय सहभागितामा उक्त कार्य गरिएको थियो । त्यस्तै, सार्वजनिक स्थलमा धुम्रपान निषेधित क्षेत्र घोषणा गर्दै सचेतनामूलक बोर्ड राखिएको छ । पहिलो चरणमा सार्वजनिक स्थलमा धुम्रपान नगर्न अनुरोध गर्ने र सचेतनामूलक कार्य गर्ने सदस्य सुजन सुबेदीले जानकारी दिएका छन् ।
समाजले सो क्षेत्रमा सडक बत्ति, खानेपानी टुवेल मर्मत, सरसफाईलगायत कार्य गर्दै ब्यवस्थित बनाउने प्रयास गरिरहेको र आगामी दिनमा पनि स्थानीयको सहयोगमा उक्त कार्यलाई निरन्तरता दिने जनाइएको छ ।