विराटनगर, ९ चैत / नेकपा एमाले मोरङले जिल्ला कार्यसमितिमा ३० जनालाई सदस्यमा मनोनीत गरेको छ ।
बेलबारीमा मैगलबार सम्पन्न जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले सदस्यमा मनोनीत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिन आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विनोद ढकालले सबै क्षेत्रलाई समेटेर ३० जना सदस्य मनोनीत गरेको जानकारी दिए ।
एमालेले चैत २० गतेभित्र १७ वटै स्थानीय तहमा संगठन कमिटी, वडा कमिटी र टोल कमिटीहरुको निर्माण गरी बैठक बस्ने, स्थानीय तहका कमिटीहरुलाई पूर्णता दिने र पार्टी सदस्यहरुको व्यवस्थापन गर्नेलगायत निर्णय गरिएको अध्यक्ष ढकालले बताए । उनले चैत २० भित्रै महिला, दलित, मुस्लिम, मधेशी, अल्पसंख्यक, समावेशी समूहका सबै क्षेत्रका शाखास्तरीय भेला गरी संविधानले दिएको अधिकार र संगठनको भूमिकाहरुको बारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय बैठकले गरेको छ । बैठकले सचिवालयलाई पूर्णता दिने, पार्टीको विभाग, नौ वटै निर्वाचन क्षेत्रका इन्चार्ज र सहइञ्चार्जहरु पनि तोकेको छ ।