काठमाडौं, ४ चैत / अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसिया कप २०१९ को फिलिपिन्ससँग हुने छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
एसियन कपको छनौट अन्तर्गतको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग आगामी चैत १५ गते मनिलामा प्रतिस्पर्धा गर्दैछ ।
टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश गरिएको छ । दोस्रो छनौटपछि अन्तिम २७ मा परेका खेलाडीमध्येबाट देभेन्द्र तामाङ र सुमन लामा चोटका कारण बाहिरिएका छन् भने एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत टिममा स्थान बनाउन असफल रहका छन् ।
त्यस्तै घरेलु नकआउट फुटबलमा उत्कृष्ट प्रर्दशन गरेका स्टार स्ट्राइकर कर्ण लिम्बु ३ बर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । सन् २०१४ मा यमनबिरुद्धको खेलपछि उनी राष्ट्रिय टोलीमा परेका थिएनन् । नेपालका स्टार नवयुग श्रेष्ठ चोटका कारण खेल्न नसक्ने भएपछि प्रशिक्षक कोजुले कर्णलाई टिममा समावेश गरेका हुन् ।
घोषित नेपाली टोलीमा गोलरक्षकमा बिकेश कुथु, किरण लिम्बु र बिशाल श्रेष्ठ, डिफेण्डरमा रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की, मिडफिल्डरमा रोहित चन्द, बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ स्ट्राइकरमा बिमल घर्तीमगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बु रहेका छन् ।