भानु मोरङ साँस्कृतिक समितिको भवन विराटनगर उपमहानगरपालिकाद्वारा तोडफोड
पूर्वाञ्चल खबर
२ चैत्र २०७३, बुधबार १९:०४
9
Shares
विराटनगर, २ चैत / विराटनगर १३ मा रहेको भानु मोरङ साँस्कृतिक समितिको भवन विराटनगर उपमहानगरपालिकाले तोडफोड गरेको छ ।
विराटनगर उपमहानगरपालिकाले विना जानकारी भवन तोडफोड गरेको अध्यक्ष मायाँ पौडेलले बताइन् । उनले यसअघि गरिएको नक्सांकनमा साँस्कृतिक समितिको भवन सडक मापदण्ड भित्र नपरेको बताइन् । उपमहानगरपालिकाले पूर्वाग्रह ढंगले भवन तोडफोड गरेको अध्यक्ष पौडेलले जानकारी दिइन् ।
साँस्कृतिक समितिको भवन तोडफोड भएपछि आजैदेखि साँस्कृतिक प्रशिक्षणका सवै कक्षा स्थगीत गरिएको छ । बरिष्ठ प्रशिक्षक प्रेमराज सुनामका अनुसार भवनको उत्तरपट्टीको भवनमा प्रशिक्षणका कक्षा हुने गरेको थियो । उनले उपमहानगरपालिकाले प्रशिक्षण भवन भत्काएपछि कक्षा स्थगित गर्नुपरेको हो ।
दैनिक तीन दर्जन वढीले सांगितिक प्रशिक्षण लिने गरेको बरिष्ठ प्रशिक्षक सुनामले बताए । सार्वजनिक सम्पतीको संरक्षण गर्नुपर्नेमा सरकारी निकायले नै भत्काउँदै हिड्ने कार्य ठिक नभएको अग्रज साहित्यककार देवी पन्थीको भनाई छ । विराटनगर उपमहानगरपालिकाका राजेन्द्र प्रधानले यस बिषयमा आफूलाई सबै कुरा थाहा नभएको बताए । उनले सडक मापदण्ड परेका निजि तथा सार्वजनिक सम्पति विकासका क्रममा भत्काइएको बताए ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले भने साँस्कृतिक समितिको भवन भत्काउनेबारे आफुलाई कुनै जानकारी नभएको बताए ।
यो बिषयमा उपमहानगरपालिकामा छलफल गर्ने बताए । भानु मोरङ साँस्कृतिक समितिकी अध्यक्ष पौडेलले यो घटनाले सम्पूर्ण कलाप्रेमीहरुलाई टुहुरा बनाइएको बताइन् ।