बन्दको अवज्ञा गरेको भन्दै मोर्चाले सप्तरीमा यात्रुबाहाक बसमा आगजनी
खबर पूर्वाञ्चल
२७ फाल्गुन २०७३, शुक्रबार १७:३३
3
Shares
सप्तरी, २७ फागुन /आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको मलेठ गाविसस्थित सडक खण्डमा एक यात्रुबाहक बसमा आगजनी गरेका छन् ।
सोमबार सप्तरीमा प्रहरीले गोली चलाएको स्थानमै मोर्चाका कार्यकर्ताहरुले विरगञ्जबाट राजविराजतर्फ आउँदै गरेको ना. ५ ख. ६७१३ नम्बरको यात्रुबाहक बसमा गएराति आगजनी गरेका हुन् ।
आगजनीबाट बस पूर्ण रुपले जलेको छ । बसका यात्रुहरुलाई ओरालेर सोही बसमा रहेको डिजल र पेट्रोल छर्केर आगो लगाएको जनाइएको छ । त्यस्तै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आह्वानमा अनिश्चितकालीन बन्दको आज पाँचौं दिन पनि प्रदर्शन जारी छ भने संघीय गठबन्धनले आह्वान गरेको एकदिने नेपाल बन्दको पूर्ण प्रभाव परेको छ ।
बन्दका कारण झापाको जनजीवन पनि प्रभावित भएको छ । जिल्लाको दमक, बिर्तामोड, काँकडभिट्टा भद्रपुरलगायतका सहरी क्षेत्रमा बन्दको प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने बैंक, वित्तीय, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत बन्द रहेका छन् ।
काँकडभिट्टा नाका हुँदै भारतबाट नेपाल आएका यात्रुहरु काँकडभिट्टामा अलपत्र परेका छन् भने मेचीका पहाडी जिल्लाहरुमा जाने यात्रु विर्तामोडमा अलपत्र परेका छन् । यात्रुहरु इरिक्सामा चर्को शुल्क तिरेर गन्तव्यमा जान बाध्य छन् ।
प्रमुख सहरहरुमा छिटफुटमा रुपमा पसलहरु खुल्नुका साथै मोटरसाइकल चलाउनमा छुट दिइएका कारण मोटरसाइकललगायत अत्यावश्यक सवारी चलेका छन् । जिल्लामा अप्रिय घटना हुन नदिनका लागि प्रहरीले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सप्तरी घटनाको विरोधमा संघीय गठनबन्धनले आव्हान गरेको बन्दका कारण पूर्वी नेपालसहि देशभरको जनजीवन प्रभावित बनेको छ ।
मोर्चासहित संघीय गठनबन्धनको समर्थनमा गरिएको आमहड्तालका कारण पूर्वका सुनसरी मोरङ, झापा, धनकुटा, भोजपुर, इलाम, पाँचथर संखुवासभालगायतका जिल्लामा बिहानैदेखि यातायात, कलकारखाना, शैक्षिक संस्था, व्यावसायिक संस्थाहरु पूर्ण रुपमा ठप्प रहेका छन् भने मोटरसाइकल एम्बुलेन्स, दूधको गाडीलाई निर्वाध रुपमा चल्न दिएका छन् ।
त्यसैगरी बन्दको प्रभाव बिराटचोक आसपासमा पनि आंसिक रुपमा परेको छ । निजी सवारी साधन फाट्टफुट्ट चले पनि सार्वजनिक यातायातका साधन ठप्प रहयो । मोटरसाइकल, एम्बुलेन्स, दुध र प्रेसका सवारि साधन निर्वाध रुपमा चलेका थिए । सलकपुर, बिराट्चोक, खोर्साने, बेलबारी लगायत आसपासका पसल ब्याबसाय पुर्ण रुपमा खुल्ला थिए ।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा प्रहरीले चलाएको गोली लागी मृत्यु भएका चारजनालाई सहीद घोषणा गर्नुपर्ने, दोषी उपर कारबाही गर्नुपर्ने तथा संविधान संशोधन गरेर मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनीहरुको माग छ ।
संघीय समाजवादी फोरमका धरान संयोजक पारस काङमाङले सप्तरीमा निर्मतापूर्वक प्रहरीले गोली चलाएर चारजनाको हत्या गरेको विरोध र भारतीय ज्यादतीविरुद्ध आन्दोलन सुरु गरेको बताए ।