खबर पूर्वाञ्चल
विरानगर, २६ फागुन / विराटनगर रानी भन्सारको दशगजा क्षेत्रमा भारतीय पक्षले नियम विपरीत गरिरहेको संरचना निर्माणको काम रोकिएको छ ।
भारतीय पक्षले विराटनगरको– वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरेकोे जिल्ला प्रशासन कार्यालय मोरङले सम्बन्धित सरोकारवाला पक्षलाई सो बिषयमा सत्यतथ्य बुझेर तत्काल पहल गर्न निर्देशन दिएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाको निर्देशन पछि दुवै देशका नापी टोलीले संरचना निर्माण भइरहेको उक्त क्षेत्रको नापजांच गरेका छन् भने तत्कालका लागि संरचना निर्माणको काममा रोक लगाइएको छ । सो बिषयमा जानकारी दिनुहुंदै प्रमुख जिल्ला अधिकारी कोइरालाले नापजांच टोलीले स्थलगत नापी गरिसकेको र सो बिषयमा नापी विभाग, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा समेत जानकारी गराइ सकिएको जानकारी दिए ।
उनंले संरचना निर्माण कार्यमा तत्काल रोक लगाइएको र नाँपजाँचबाट प्रमाणिकरणपछि निर्माण गरिएको संरचना भत्काइने बताए । भारतीय पक्षले विराटनगरको–२२ को दशगजा क्षेत्रमा हनुमान मन्दिर पछाडि पक्की संरचना निर्माण थालेको थियो ।