तोकिएकै मितिमा निर्वाचन हुन्छ –प्रधानमन्त्री प्रचण्ड
खबर पूर्वाञ्चल
२२ फाल्गुन २०७३, आईतवार १५:१५
3
Shares
विराटनगर, २२ फागुन / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज विहान स्थानिय पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले असहमति जनाइरहेको संयुक्त मधेशी मोर्चा पनि अन्ततः निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने समेत ठोकुवा गरे ।
मधेशी मोर्चाको सरोकार रहेको संविधान संशोधन प्रकृयामा रहेको र प्रदेश र केन्द्रीय निर्वाचनकालागि संशोधन महत्वपूर्ण हुने भएकोले स्थानीय तहको निर्वाचनमा उनीहरुको सहभागिता हुने प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले भने ‘संविधान कार्यान्वयन गर्नकालागि निर्वाचन गर्नै पर्छ र हुन्छ सँगँंगै मोर्चाको माग सम्वोधन गर्न अघि बढाइएको संशोधन प्रस्ताव पारित हुने वातावरण तयार पारिन्छ ।’ उनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फेल हुने गरी मतदानमा लैजान नहुने भन्दै प्रतिपक्ष दललाई सहमत गराएर पारित गर्नेतर्फ आफु अघि बढेको बताए ।
पूर्वाञ्चल विश्वविद्यालयको आठौं दिक्षान्त समारोहमा सहभागि हुन विराटनगर आएका प्रधानमन्त्री प्रचण्डले आइतवार बस्ने मन्त्रि परिषदको बैठकबाट स्थानीय तहको संख्या टुंगो लगाउने र निर्वाचनको तयारी तिब्र बनाउने जानकारी दिए ।
स्थानीय तह पुर्नसंरचना आयोगले दिएको अधिकतम संख्या भित्रै रहेर संख्याको अन्तिम टुंगो लगाउने तयारी भएको उनको भनाई थियो ।
संयुक्त मधेशी मोर्चाले जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या भनेपनि आयोगको सुझावलाई वेवास्ता गरेर जानसक्ने अवस्था नरहेको उनको टिप्पणी रहेको थियो । यद्यपी अधिकतम संख्या बनाएर मोर्चाको सरोकारलाई सम्वोधन गर्ने तथा प्रदेश र केन्द्रीय निर्वाचनकालागि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेर सहमति बनाइने प्रधानमन्त्री प्रचण्डको कथन थियोे ।
नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियानले निर्वाचनको वातावरण बनाउने प्रधानमन्त्री प्रचण्डले बताए । हरेक पार्टीलाई आफ्नो विचार र कार्यक्रम जनताकाबीचमा लैजाने स्वतन्त्रता भएकोले त्यसलाई विथोल्ने गरी कुनै पनि काम गर्न नहुने प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले भने ‘कुनै अवान्छित गतिविधि हुन नदिन सुरक्षा निकाय लगायत सबै पक्षलाई निर्देशन गरिएको छ र एमालेले गर्ने अभियानले निर्वाचनको वातावरण राम्रो बनाउँछ भन्ने विश्वास गरेका छौं ।’ उनले लोकतन्त्रमा सबैलाई आफ्नो विचार अभिव्यक्त गर्ने हक हुने पनि स्पष्ट पारे ।
सर्वोच्च अदालतले दश दिन भित्र निर्वाचनको कार्यतालिक ल्याउन सरकारको नाममा दिएको आदेशप्रति व्यङ्य गर्दै प्रधानमन्त्री प्रचण्डले अदालतलाई धेरै दुःख दिने काम रोक्नु पर्ने बताए । उनले भने ‘हरेक कुरा अदालतबाट गराउन खोज्दा अदालतलाई दुःख हुन्छ अब अदालतलाई धेरै काम लगाउने क्रम रोक्नु पर्छ यद्यपी सरकार कार्यसुचि बनाएर निर्वाचन तर्फ अघि बढेको छ र वैशाखमा स्थानीय तहको चुनाव सकेपछि कार्तिक तेस्रो सातादेखि मंसिर दोस्रो सातासम्म प्रदेश र केन्द्रको निर्वाचन गर्ने तयारीमा छ ।’