AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङमा दलको चुनाव चिन्ह नपाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७३, शुक्रबार २१:३२
3
Shares
विराटनगर १३ फागुन / वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङमा दलको चुनाव चिन्ह नपाउने भएको छ ।
निर्वाचन आयोगले दल दर्ता गर्न दिएको समय भित्र जिल्लामा क्रियाशिल दलहरु दर्ता गर्न आव्हान गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङमा दल दर्ता नगराएको हो । दल दर्ता नभएका कारण अब राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनु पर्ने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
निर्वाचन आयोगले राष्ट्रिय सञ्चार माध्यमहरुमा सार्वजनिक सूचना प्रकाशित गरेर स्थानीय तहमा दल दर्ताकालागि माघ १७ गतेसम्मको समय दिएको थियो । सो अवधि भित्र मोरङमा ३६ दलले दर्ता गराएका थिए । अब स्थानीय तहको चुनावमा दर्ता भएका ति ३६ दलले मात्र दलको हैशियतमा चुनाव चिन्ह पाउने छन् । बाँकीले स्वतन्त्रको हैसियतमा भाग लिनु पर्नेछ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सञ्जेलले भने ‘हामीले पटक पटक लिखित र मौखिक रुपमा दलहरुलाई दर्ताकालागि जानकारी गरायौं तर राष्ट्रिय प्रजातन्त्र पार्टीले दर्ताकालागि निवेदन दिएन ।
समय बितेपछि अन्य केही राजनीतिक दलहरु सम्पर्कमा आएका छन् तर त्यसको विषयमा पनि कुनै कारवाही अघि बढेको छैन ।’ जिल्ला निर्वाचन कार्यालय मोरङले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दुई पटक दर्ताकालागि भन्दै पत्राचार गरेको थियो । टेलिफोनमा धेरै पटक कुराकानी भएको प्रमुख सञ्जेलले बताए । तर राप्रपा नेपाल र राप्रपा एकीकरण हुने प्रकृयामा रहेको भन्दै दुवै घटकले दल दर्ता गराएनन् जसले गर्दा आज मोरङमा उनीहरुले दलको हैशियत गुमाउन पुगेका छन् ।
निर्वाचन कार्यालय प्रमुख सञ्जेलले भने ‘अब हामी सर्वदलीय बैठकमा छलफलकालागि बोलाउँदा दर्ता भएका दलहरुलाई मात्र बोलाउने अवस्थामा छौं । कानुन अनुसार दर्ता नभएको दललाई जिल्लामा क्रियाशिल दल भन्ने अवस्था हुँदैन ।’ निर्वाचन आयोगले विशेष व्यवस्था गरेको खण्डमा दल दर्ताको अवसर हुन सक्ने अवस्था भने रहन्छ । त्यस बाहेक अरु प्रकृयाबाट दल दर्ता सम्भव नरहेको सञ्जेलले जानकारी दिए ।
मोरङमा स्थानीय तह निर्वाचनकालागि ५० गाविस, एक उपमहानगरपालिका र ७ नगरपालिकाबाट सबै तथ्यांक संकलन गरेर निर्वाचनको काम अघि बढेको छ । यस बीचमा पुस ११ देखि माघ २९ गतेसम्म ८ ओटा घुम्ती टोलीले जिल्लाभरबाट मतदाता नामावली संकलन गर्ने काम पनि गरेको छ । त्यस क्रममा १४ हजार ३ सय ७४ जनाले नयाँ नाम दर्ता गराएका छन् । नाम संकलनका क्रममा वयरवन गाविसमा सबैभन्दा धेरै ६ सय ७ जना मतदाताले नाम दर्ता गराएका छन् भने उर्लावारी ३ मा कुनै पनि नयाँ मतदाताले नाम दर्ता गराएनन् । सबैभन्दा कम विराटनगर उपमहानगरपालिका ३ मा नाम दर्ता भएको छ । त्यहाँ ३ जनाले मात्र नाम दर्ता गराए ।
निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनकालागि १ सय ५५ युनिटलाई आधार मानेर निर्वाचनको काम अघि बढाएको छ । स्थानीय तह बन्नु अघिको ५० गाविसलाई ५० युनिट र नगर र उपमहानगरका प्रत्येक वार्डलाई एक युनिट मान्दा हुने १ सय ५ युनिट गरी जम्मा १ सय ५५ युनिटमा आधारित रहेर निर्वाचन कार्याक्रम अघि बढेको बताइएको छ ।
अहिले कतिपय वार्डहरु समायोजन हुने र स्थानीय तहको सिमाना फेरबदल हुने अवस्था कायम रहेका कारण कामलाई व्यवस्थित बनाएर अघि बढ्न केही कठिनाई भएको बताइएको छ । यि सबै समस्याका बावजुद पनि फोटो सहितको दावि विरोधसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम २०७३ को काम फागुन २१ गते पूर्णरुपमा सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर