बिनु तिम्सिना
विराटनगर,फागुन १२/ मेहनत र इच्छा शक्ति भए जे पनि सम्भव हुन्छ , यसको ज्वलन्त उदाहरण बनेका छन् मोरङ जिल्लाको सुदुरपूर्वी गाविस महादेवाका यामलाल दास । रतुवा खोलामा सुकुम्बासीका रुपमा बसेको दास परिवार अहिले जिल्लामा नै धेरै तरकारी उत्पादन गर्ने कृषकका रुपमा पहिचान बनाउन सफल भएका छन् ।
महादेवा गाविस १ का यामलाल दास पाँच वर्ष अघि सम्म रोजगारीका लागि भारतको पञ्जाबमा मजदुरी गर्न जाने गर्दथे । अर्काको देशमा मजदुरी गर्दापनि उनको परिवारलाइ कसरी छाक टार्ने भन्ने समस्याले कहिल्यै छाडेन् ।
दासले आँट गरेर पाँच वर्ष अघि झापा र मोरङको सिमानामा रहेको रतुवा खोलाको बगरमा तरकारी खेती सुरु गरे । सुरुवाति वर्षमा उनले नाफा कमाउन सकेनन् । तर पनि हरेस भने खाएनन् ।
छ कठ्ठा जग्गा लिजमा लिएर उनले व्यवसायिक तरकारी खेती सुरु गरे । त्यसपछि अहिलेसम्म आफुले पछाडि फर्केर हेर्नुनपरेको उनको भनाइ छ ।लगन र मेहनका साथ व्ययसायिक तरकारी खेति सुरु गरेको पहिलो वर्ष उनले २ लाख रुपैयाँ नाफा कमाए ।
भाडामा लिएको छ कठ्ठा जग्गाबाट सुरु गरेको खेति अहिले पाँच विगाहा क्षेत्रमा विस्तार भएको छ । छोटो समयमै आफुले पाएको यो सफलताको श्रेय उनि तरकारी खेतिलाइ नै दिन्छन् । उनी भन्छन्, शुकुम्बासी थिए अहिले आफै मालिक बनेको छु । मेहेनत गर्याे भने तरकारी खेतीबाटै मनग्गै आम्दानि गर्न सकिन्छ उनि भन्छन्, “आज भन्दा पाँच वर्ष अघि मलाइ कसैले पाँच रुपैया दिदैन थिए । तर अहिले म आफै वार्षिक पाँच लाख आम्दानी गर्छु , गाउँ घरमा मलाइ नपत्याउने मानिसहरु अहिले मसंग सल्लाह लिन आउँछन् ।”
आर्थिक अभावमा आफुले ८ कक्षा सम्म मात्रै पढ्न पाएको भएपनि यामलालले आफ्ना दई सन्तानलाइ भने नजिकैको बोर्डिङ स्कूलमा पढाइरहेका छन् ।
यामलाल दास एक्लै ले भने यो प्रगति हासिल गरेका होइनन् । यसमा उनको परिवारको पनि उत्तीकै साथ छ । दास परिवार बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खेतमा नै बिताउँछन् । यामलाल दासका बुबा प्रेमलाल दास भन्छन् तरकारी खेतीबाटै हामी सुकुम्बासीबाट मालिक बनेका छौं ।
पाँच वर्ष अघि प्रेमलाल गाइगोरुको बेचबिखन गर्थे । नेपाल र भारतमा गाइगोरु बिक्री गर्ने प्रेमलाल त्यहिकारणले गर्दा चार पटक सम्म प्रहरीको फन्दामा समेत परेको बताउँछन् । त्यसपछि तरकारी खेती सुरु गरेका उनि अहिले तरकारी खेतीकै कारण समाजमा आफ्नो ठुलो इज्जत बढेको सुनाउँछन् । उनी भन्छन् अहिले हामिले नगरेको कुनै खेती छैन् । धान, गहु, मुसुरो, आलु, पाटा, सुठुनी लगायत मौसम अनुसारका सबै तरकारी खेती हामिले गर्ने गरेका छौ । यसैको आम्दानीबाट अहिले आफ्नै दुइ विगाहा खेतिको जग्गा र १० कठ्ठा घडेरी जोडेको उनी बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत काशीकुमार चौधरी भन्छन “ पाँच वर्ष अघि उनीहरुको अवस्था सुन्दा मेरो पनि आँखा रसायो, तर अहिले कृषिबाट नै उनीहरुको काया पलट भएको छ । ”
दुई वर्ष अघि जिल्ला कृषि विकास कार्यालयले उनीहरुलाइ युवास्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिचाँइ कार्याक्रमबाट पम्पसेट, बोरिङ, तरकारी खेति तालिम दिएको उनी बताउछन ।
दास जस्तै १० जना कृषक महादेवामा हुने हो भने मात्रै तरकारी उत्पादनमा जिल्ला नै अगाडि बढ्ने उनको भनाइ छ ।