तस्वीर – गत असारमा आएको बाढीबाट क्षति भएको स्थल मधुमल्ला–४ धप्डटोल
घनश्याम भण्डारी
उर्लाबारी, फागुन ११/ बक्राहा–नूनसरी बाढी प्रभावित क्षेत्रमा अझैं पनि बक्राहा नदी मानव वस्ती क्षेत्रमा नै बगिरहेको छ । मानव बस्ती क्षेत्र पुरै बगरमा परिणत छ ।
नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्त निम्त्याउने संकेत गरेको छ ।
भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको सतह अग्लो हुनुले बक्राहा बग्ने चुरेदेखि भारतको सीमासम्म झण्डै ५६ किलोमिटरसम्मका बासिन्दा त्रसित छन् । बक्राहा खोला नियन्त्रणका लागि नियमक निकायले आश्वासनमात्र दिएकाले प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
मंगलबार सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरूद्वारा गठित बक्राहा नदी नियन्त्रण तथा तराई मधेस संरक्षण विकास पहल समितिले नदी नियन्त्रणका लागि दबाब सिर्जना गर्न आन्दोलन थालिएको बताए ।
समितिका संयोजक मानबहादुर श्रेष्ठले मंगलबार सञ्चार क्लबमा नदी नियन्त्रणका लागि सारोकारवालासँग पटकपटक माग राख्दा पनि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका बताए ।
समितिले सार्वजनिक गरेका आन्दोनलको पहिलो कार्यक्रममा फागुन १० गते पत्रकार सम्मेलनको आयोजना, कार्यक्रमहरूमा फागुन १९ गते सरोकारवाला निकायहरूमा घेराउ तथा धर्ना, फागुन २५ गते जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय मोरङको प्राङ्गणमा रिले अनसन र २५ गतेपछि अनिश्चितकालिन आमरण अनसन गरिने रहेका छन् ।