विराटनगर, फागुन ९ / विराटनगरमा फागुन ११ गतेदेखि कृषि तथा औद्योगिक प्दर्शनी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
विराट एक्स्पोको नाममा सञ्चालन गरिने व्यापार मेला विराटनगर ३ स्थित मुनालपथ पूर्व तर्फको मैदानमा आयोजना गरिने छ ।
विराट एक्स्पोमा स्वदेशी र विदेशी गरी २ सय ५४ स्टल राखिने छ । सबै स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । उद्योग संगठन मोरङको अध्यक्ष मुकेश उपाध्याले प्रदर्शनीमा राखिने सबै स्टल बुक भइसकेको जानकारी दिए । १६ ओटा स्टल भारत, १६ ओटा बंगलादेश र ७ ओटा चीनले बुक गरेको उद्योग संगठन मोरङका अध्यक्ष उपाध्यायले जानकारी दिए ।
हिमाली भेगमा पाइने र लोप हुदै गएको चौरी गाई मेलामा प्रदर्शनकालागि राखिने छ । औद्योगिक उत्पादन तथा बस्तुहरु, कृषि जडिबुटि, कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामाग्री, अष्ट्रिज, टर्की, उँट, विद्युतीय सामाग्रीहरु प्रदर्शनीमा राखिने बताइएको छ ।
त्यस्तै एक्स्पोमा रोजगारी मेलासमेत रहने छ । विभिन्न कम्पनीले माग गरे अनुसार सोही स्थानबाट उपयुक्त व्यक्तिलाई रोजगारकालागि प्रकृया अघि बढाइने अवसर त्यसले प्रदान गर्ने आयोजकले जनाएको छ ।
यस पटकको एक्स्पो माउन्टेन फ्लाइट समेत गरिने टुंगो लागेको छ भने हेली सिटीका लागि पनि सम्झौता भइसकेको छ । एक घन्टा माउन्टेन फ्लाइट गर्दा पूर्वका हिमालहरू कंचनजंघा, मकालु तथा सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको अवलोकन गर्न सकिने उपाध्यायले बताए । पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सञ्चालन गर्न लागिएको हो ।
एक हप्तासम्म सञ्चालन हुने एक्स्पोमा छिमेकी मुलुक भारतको बिहार, पश्चिमको बंगाल देखि स्वेदशको गरि करिब तीन लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।
एक्स्पोमा ४० देखि ५० करोडको कारोबार हुने अध्यक्ष उपाध्याले जानकारी दिए । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने छन् ।
यसैबीच मोरङका उद्योगीहरुले प्रदर्शनी स्थल अभावमा व्यवसायिक प्रवद्र्धनको काम तथा यस प्रकारको प्रदर्शनी अभाव भएको गुनासो गरेका छन् । उनीहरुले सरकारले त्यसकालागि आवश्यक प्रवन्ध गरिदिनुपर्ने माग गरेका छन् ।
विराटनगरमा बुधबारदेखि सुरु हुने विराट एक्स्पोको उद्घाटन गर्न आउँदा प्रधानमन्त्री प्रचण्डलाई मोरङका उद्योगी व्यापारीहरुले ज्ञापन पत्र बुझाउने भएका हुन ।
विराटनगरका कुनै पनि बस्तुको प्रदर्शनी गर्दा कार्यक्रम गर्ने स्थल नभएकोले यस्तो माग गरेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले जानकारी दिए । राज्यले प्रदर्शनी स्थलको लागि आवश्यक जग्गा उपलब्ध गराए त्यसको निमार्ण कार्यदेखि प्रदर्शनी गर्नेसम्मको पूर्वधार बनाउने जिम्मा लिने उनीहरुको सोचाइरहेको छ ।