विराटनगर, फागुन ८ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन भन्दा अगाडी नै मधेसी मोर्चाको माग पुरा हुने गरी संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
सिरहाको लहानमा श्री मद्भागवत महापूराण ज्ञान सप्ताह महायज्ञको उद्टन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले मिति घोषणा गरेपनि निर्वाचन तीन महिनापछि हुने र उक्त समय भित्रै मधेसी मोर्चाको सम्पूर्ण माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले निर्वाचन अगाडी नै गाउँपालिका वा स्थानीय तहको संख्या बृद्धि गर्ने पनि बताए । उनले राज्य पुर्नसंरचनाको विवाद मिलाउन संघीय आयोग गठन गरेर अगाडी बढ्ने उनको भनाई थियो । उनले देशमा अतिवादले ठाउँको उठाउन थालेकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘मधेस देश अलग गर्नुपर्छ भन्ने एउटा र एक मात्र समुदाय तथा वर्ग विशेषको उन्नती देख्ने अर्को अतिवाद देखा परेको छ । त्यसैले अतिवाद विरुद्ध हामीले लाग्नैपर्छ ।’ शान्तिका लागि अहिले निकै पेचिलो लडाई लडिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेसी, जनजाती, मुस्लिम लगायतका सबै समुदायको हक र अधिकारका लागि पेचिलो लडाइ जित्नैपर्छ । हामीले लडाइ जित्न नसके देश ठूलो भुमरीमा फस्नेछ ।’