विराटनगर, फागुन ५ / कोशी अञ्चल अस्पताल विराटनगरस्थित सार्बजनिक शौचालयबाट खाना पकाउने ग्यास उत्पादन गरि स्थानीय होटल सञ्चालकहरुलाई बिक्री शुरु गरिएको छ ।
ट्राफिक सचेतना मञ्च नेपालको संयोजनमा निर्माण गरिएको बायो ग्यास प्लाण्टको एरोशन क्यानाडाका मिष्टर डेविडले आज एक कार्यक्रम बिच उद्घाटन गरे । वायो ग्यास हाल २ वटा होटल व्यबसायीलाई बिक्री शुरु गरिएको हो । होटल व्यबसायीहरुले अस्पतालको ग्यास एलपी ग्यास र विजुली भन्दा सस्तो हुने बताए ।
प्लाण्टबाट उत्पादित ग्यास ४ वटा होटललाई पुग्ने ट्राफिक सचेतन मञ्च नेपालका अध्यक्ष रेवतबहादुर कार्कीले जानकारी दिए । मञ्चको संयोजनमा अस्पतालसँग २५ बर्षको लागि जग्गा भाडामा लिएर सार्वजनिक शौचालय निर्माण भएको हो ।
मञ्चका अध्यक्ष कार्कीले शौचालय निर्माणका लागि मझौला सहर एकिकृत सहरी वातावरणीय परियोजनाले २३ लाख, २० घन मिटरको बायो ग्यास प्लाण्ट निर्माणका लागि ४ लाख सहयोग गरेको जानकारी दिए । उनले प्लाण्ट क्षेत्रलाई ग्रिनरी पार्क निर्माणका लागि न्यू भिजन रिन्यूवेल कम्पनी काठमाडौंको संभाव्यता अध्ययन तथा प्राबिधिक सहयोगमा नेपाल सरकारबाट १ लाख ८० हजार प्राप्त हुने प्रक्रियामा रहेको जानकारी दिए ।
ग्यास बिक्रीबाट भएको आम्दानीमध्ये १० प्रतिशत एरोशन, १० प्रतिशत अस्पताल र बाकी ८० प्रतिशतबाट मञ्चले वातावरण तथा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा खर्च गर्ने सम्झौता भएको भएको कार्यक्रममा जानकारी दिइएको थियो । उद्घाटन कार्यक्रममा एरोशन क्यानाडाका मिस्टर डेविडले नेपालको विराटनगरस्थित यस अस्पतालमा निर्माण गरिएको वायो ग्यासको अबधारण अत्यन्तै सुन्दर भएको बताए ।
कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकार िअधिकृत दिपक कोइरालाले अस्पतालमा निर्माण भएको वायो ग्यास दिगो विकासको आधार भएको बताए । यस्तै उनले बायो ग्यास, ग्रिनरी प्लाण्ट, सार्बजनिक शौचालय अन्य सरकारी तथा निजि अस्पताल, विद्यालय, शुरक्षा निकायहरुमा निर्माण गर्ने प्रतिबद्धता जनाए ।