AArya
RUMPUM
animated ellipse animated ellipse

एक वर्षमै भारतबाट पाँच करोडको तास भित्रियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७३, सोमबार २०:१७
3
Shares
विराटनगर, फागुन २। खेल्न/खेलाउनका लागि कानूनले प्रतिबन्ध लगाएको तास एक वर्षमै ५ करोड १५ लाख अर्थात झण्डै ४६ लाख बुक तास भारतबाट नेपाल भित्रिएको पाइएको छ ।
यो तथ्यांक आर्थिक वर्ष २०७२/०७३ मा नेपाल भारत सीमा नाका जोगबनीबाट विराटनगर भित्रिएको तथ्यांक हो । तथ्यांक अनुसार विराटनगर भन्सार कार्यालयबाट यसरी नै वर्षेनी तास भित्रिरहेको छ । भन्सारले जुवा खेलमा प्रयोग गरिने तासलाई लक्जरी सामग्री अन्र्तगत राखेर मूल्य अनुसार २० प्रतिशत भन्सार राजस्व र १३ प्रतिशत कर असुलेर आयात गर्न अनुमति दिँदै आएको छ ।
व्यापार घाटा कम गर्ने प्रयास गरिरहँदा सरकारले तास आयातमा पनि कानूनी रुपमै प्रतिबन्ध लगाउनु पर्ने अर्थशास्त्रीको भनाइ छ । ‘तास लगायत विलाशिताका सामानको पहिचान गरी सरकारले आयातमा प्रतिबन्ध लगाउनु पर्छ,’ अर्थशास्त्री प्रमोदकुमार झाले बताए, ‘नेपाल भारतबीचको व्यापार घाटा कम गर्न सके राष्ट्रलाई फाइदा पुग्ने थियो ।’
विराटनगर भन्सारको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा पाँच करोड १५ लाख ४० हजार मूल्य बराबरका ४५ लाख ८५ हजार ६ सय ९२ बुक तास आयात भएको छ । चालू आर्थिक वर्ष २०७३/०७४ को पुस मसान्तसम्ममा मात्रै पनि एक करोड ७१ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको १२ लाख ६० हजार दुई सय ९४ बुक तास आयात भएको देखिन्छ ।
खेल्न खेलाउन प्रतिबन्ध भएपनि आयत गर्न कुनै प्रतिबन्ध नभएकोले भारतीय बजारबाट करोडौ मूल्य बराबरको तास निर्धक्क आयात भइरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिए । उनका अनुसार नेपालमा तास बिक्रि गर्र्न पनि प्रतिबन्ध नभएकोले व्यपारीले बिक्रीका लागि तास आयात गर्ने गर्दै आएका छन् । खेल्न खेलाउन प्रतिबन्ध भएपनि नेपालका प्रायः पसलमा तास खरिद गर्न पाइन्छ ।
‘मनोरञ्जनको रुपमा तास खेल्ने हो भने सामान्य नै हो,’ झाले भने, ‘तर, विकृतिको रुपमा खेलिरहेको र खेलाउने कार्यलाई सरकारले कानून अनुसार कडा कारबाही गर्नु आवश्यक छ ।’ तर, तास खेल्ने मानिसको प्रवृत्ती रहेको कारण तत्कालै खेल्ने र खेलाउने प्रवृत्ती अन्त्य हुन कठिन हुने उनको भनाइ छ ।
जुवा ऐनमा तास खेले खेलाइएमा पहिलो पल्ट बरामद धनमाल जफतसहित दुई सय रुपैयाँ जरिमाना गर्ने व्यवस्था छ । प्रहरीले तास–जुवा खेलेको आरोपमा वर्षेनि सयौं व्यक्त्ति र लाखौं मूल्य बराबरको धनमालसहित पक्राउ गरेर कानूनी कारबाही चलाउँदै आएको छ ।
देशका विभिन्न ठूला तथा साना सहरमा मानिसहरुले आ–आफ्नो हैसियत अनुसार तास खेल्ने गरेको पाइन्छ । कतिपय ठूल–ठूला घरानादेखि व्यवसायीसम्मले तास खेलेकै कारण टाट पल्टिनु परेका उदाहरण समाजमा व्याप्छ छ । त्यही कुरालाई दर्शाउँदै बुढापाकाले भन्ने गरेका छन् ‘नलेल्नु जुवा र तास धनको नास जीवनको बनिवास’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर